बुटवल,२२ माघ ।
तिलोत्तमा नगरपालिकाको मंगलापुर—कान्छीबजार सडक निर्माणको लागि ग्लोबल टेण्डर आह्वान भएको छ ।
ग्लोबल टेण्डरबाट निर्माण हुन थालेको यो तिलोत्तमा नगरपालिकाको पहिलो विकास आयोजना भएको नगरपालिकाले जनाएको छ ।
सडक निर्माणको लागि योग्यता पुगेका अन्तर्राष्ट्रिय निर्माण कम्पनीले पनि टेण्डरमा सहभागी हुन पाउने छन् ।
मंगलापुर—कान्छीबजार सडक विश्व बैंकको सहयोगमा सहरी विकास मन्त्रालयको शहरी शासकीय तथा पूर्वाधार आयोजना (एन.यु.जी.आई.पी) मार्फत् निर्माण हुन थालेको हो ।
कार्यसम्झौताको दुई वर्ष भित्र निर्माण सक्ने गरी तिलोत्तमा नगरपालिकाले टेण्डर आह्वान गरेको हो ।
नगर प्रमुख बासुदेव घिमिरेले विभिन्न प्रक्रिया पार गर्दै सडक निर्माणको लागि टेण्डर आह्वान हुनु सबैको लागि खुशीको कुरा रहेको बताउँदै यो सडक यस क्षेत्रकैं लागि नमूना हुने विश्वास व्यक्त गरे ।
अस्फाल्ट मेट्रियलको प्रयोग हुने यो सडक आयोजनाको कुल लागत ७९ करोड ५५ लाख रहेको नगरपालिकाका योजना प्रमुख ई. प्रदीप वनले जानकारी दिए ।






