दाङ,२० माघ ।
लुम्बिनी प्रदेशकी पर्यटन,ग्रामिण तथा सहरी विकास राज्यमन्त्री रीना नेपाल (बिक) ले आध्यात्मिक शिक्षा र मेडिटेशन मार्फत समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका निर्वाह भएको बताएकी छन् ।

बिहीबार दाङको घोराईस्थित मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले समाज रुपान्तरणमा आध्यात्मिक शिक्षा र मेडिटेशनले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताएकी हुन् ।

देशका बिभिन्न ठाउँमा खुलेका ब्रह्माकुमारी ईश्वरीय विद्यालय,राजयोग प्रशिक्षण केन्द्रहरुले आध्यात्मिक शिक्षामार्फत नागरिकहरुलाई नैतिक र चरित्रवान बनाउनुकासाथै समाजसेवामा प्रेरित गर्दै आएको भन्दै राज्यमन्त्री नेपालले समाज रुपान्तरणमा महत्वपूर्ण सहयोग पुर्याउदै आएका त्यस्ता संस्थाहरुको प्रवद्र्धनमा सहयोग गर्ने बताइन् ।
नैतिक शिक्षाको अभावमा पछिल्लो समय उछृङ्खलता बढ्नुका साथै नागरिकमा तनाव उत्पन्न हुने गरेको भन्दै उनले तनाव ब्यवस्थापन गरी समाज रुपान्तरणमा सहयोग गर्दै आएका त्यस्ता संस्थाहरुलाई तीनवटै तहका सरकारहरुले सहयोग गर्नुपर्ने धारणा राखिन् ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पुष्पा श्रेष्ठले नागरिकमा आध्यात्मिक जागरण ल्याउनुका साथै तनाव ब्यवस्थापन मार्फत समाज रुपान्तरणमा आध्यात्मिक संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै त्यस्ता निस्वार्थ रुपमा समाजसेवा गर्दै आएका संघसंस्थाहरुको प्रवद्र्धनमा राज्यले पनि सहयोग गर्नुपर्नेमा जोड दिइन् ।
सो अवसरमा मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र प्रमुख ब्रह्माकुमारी गीताले भौतिकवाद र आध्यात्मवादलाई संयोजन गरेर अगाडी बढ्न सकेमात्र मुलुक समृद्ध बन्न सक्ने धारणा राखिन् ।

पछिल्लो समय नागरिकमा अनेक किसिमका तनाब उत्पन्न हुने गरेको भन्दै उनले तनाव ब्यवस्थापनका लागि मेडिटेशन जरुरी रहेको बताइन् ।
कार्यक्रममा बह्माकुमार माधव तिमल्सीना,संसदीय मामिला पत्रकार समाज लुम्बिनीका सदस्य प्रकाश खनाल लगायतले आध्यात्मिक चिन्तन र मेडिटेशनको महत्वबारे आ आफ्नो धारणा राखेका थिए ।