प्युठान,१७ माघ ।
पर्यटन,ग्रामीण तथा सहरी विकास राज्यमन्त्री रिना नेपाल बिकले प्रदेश सरकार जनताको घर घरमा शुद्ध पिउने पानी उपलब्ध गराउने योजना बनाएको भन्दै साेहि अनुसार द्रुत गतिमा काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छन् ।

खानेपानी आयोजनाहरूकाे निरीक्षणका क्रममा साेमबार प्युठान स्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कर्मचारीहरूसँगकाे भेटघाट कार्यक्रममा बाेल्दै मन्त्री नेपालले उक्त निर्देशन दिएकी हुन् ।

सानोतिनो योजनाका लागि मन्त्रालयमै धाउनुपर्ने परिपाटी अन्त्य गर्नुपर्नेमा जाेड दिदै उनलेे सानोतिनो योजनाहरू जिल्ला स्थित कार्यालयबाटै हुने ब्यवस्था मिलाउन समेत निर्देशन दिइन् ।

खानेपानी योजनाका लागि बजेट अभाव हुन नदिने प्रतिवद्वता ब्यक्त गर्दै मन्त्री नेपालले सबै नेपालीकाे घर घरमा शुद्ध पिउने पानी उपलब्ध गराउने योजना साकार पार्न सबै दत्तचित्त भएर लाग्नुपर्ने बताइन् ।

साे अवसरमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्युठानका प्रमुख राजकुमार चाैधरीले अब्यवस्थित रूपमा खनिएका सडकका कारण प्युठानका धेरैजसो खानेपानी मुल सुक्ने अवस्थामा पुगेको भन्दै त्यसका लागि योजनाको डिपिआर बनाएर योजना अगाडि बढाउनुपर्ने आवश्यकता आैल्याए ।

सानोतिनो योजना जिल्लाबाटै अगाडि बढाउन सकिने भए पनि उपभोक्ताहरू कार्यालयमा नआई मन्त्रालमायमा पुग्ने गरेको भन्दै उनलेे सानातिना योजना र मर्मतसम्भारका कामका लागि मन्त्रालय धाउनु नपर्ने बताए ।
मन्त्री नेपाल र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्युठानका प्रमुख चाैधरीसहितको टोलीले साेमबारै प्युठान वडा नं ४,६,८,९ खानेपानी आयोजना र प्युठानकै खैरा,सत्मुखि,खैराकाेट खानेपानी आयोजनाकाे स्थलगत अवलोकन गरेको मन्त्रीका स्वकीय सचिव राेमलाल खनालले जानकारी दिए ।