बुटवल,१५ माघ ।
नेपाल नियमित रक्तदाता संघ र जय माता दि एम्युजमेन्ट एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिको संयुक्त आयोजनामा शनिबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा संघका सल्लाहकार बिमल बहादुर शाक्यले सामाजिक कार्यमा उत्तम दान रक्तदान भएको बताउदै रक्तदाता जिवन बचाउने नायक भएको बिचार ब्यक्त गरे ।

पछिल्लो समय मानिसमा रक्तदानप्रतिको सोचमा परिवर्तन आईरहेको भन्दै उनले यसको महत्व बुझाउन संघसंस्थाहरुको भुमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारीले रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले संघले नियमित रुपमा रक्तदान गर्दै आइरहेको भन्दै रगतको सोधभर्ना गर्ने परिपाटी अन्त्य गर्नुपर्नेमा जोड दिए ।
जय माता दि एम्युजमेन्ट एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिका कार्यकारी प्रमुख राजबिर जयसवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा रुपन्देही नृत्यकर्मी संघका अध्यक्ष सुन्दर गुरुङ, कलाकार दिपु मगर, साईन डिजाईनका राजिव भुषालले रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाणपत्रबाट सम्मान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३० युनिट रगत संकलन भएको छ ।






