कुनै हालतमा बुद्धजयन्ती अगावै अन्तर्राष्ट्रिय उडान भर्नेगरि काम गर्न मन्त्री आलेकाे निर्देशन
भैरहवा,१५ माघ । पटकपटक यति महिनापछि अन्तर्राष्ट्रिय उडान हुने भनी समाचार प्रकाशन प्रसारण हुने तर काम नसकिने हुँदै आएको भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्धजयन्ती अगावै अन्तर्राष्ट्रिय उडान हुने लगभग पक्का भएको छ ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे निरिक्षण पछि संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले आउँदो बुद्ध जयन्तीभन्दा अगावै अन्तर्राष्ट्रिय उडान भर्न अब माैसमकाे खराबी बाहेक कुनै कुराले नराेक्ने बताएका हुन् ।

विमानस्थल आयोजनाको प्रगति विवरण लिँदै शनिबार मन्त्री आलेले विमानस्थल संचालनमा अब कुनै पनि खालको बिलम्ब नहुने गरी योजना बनाइएको बताएका हुन् । तर मौसम प्रतिकूलताका कारण पछिल्लो समयमा परीक्षण उडानमा ढिलाइ भइरहेको उनको भनाइ छ ।

यो विमानस्थलप्रति विश्वकै ध्यानाकृष्ट भएकाे भन्दैमा मन्त्री आलेले बिमानस्थल सञ्चालनमा ल्याउन अब कुनै पनि खालको बिलम्ब हुन नहुँने बताए, मन्त्री आलेले भने, ‘बुद्ध जयन्ती अगावै यस विमानस्थलमा ठूल्ठूला विमान उडेर संचालन भएको देख्न पाइयोस् । म यसका लागि यहींबाटै निर्देशन दिन्छु, कुनै पनि हालतमा बुद्ध जयन्तीभन्दा अगावै अन्तर्राष्ट्रिय उडान हुनु पर्छ ।’

नेपाल नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले मौसम अनुकूल बन्दै गए ढिलोमा पनि परीक्षण उडानका लागि थाइल्याण्डदेखि आउँदो फेब्रुअरी २१ (फागुन ९ गते) का दिनसम्म विमान नेपाल अवतरण हुने गरी कार्यतालिका तयार पारिएको जनाए । यदि संभव भएमा त्यो भन्दा अगाडि पनि विमान नेपाल आउन सक्ने उनले बताए ।

परीक्षण उडानका लागि विमानसहित मौसम, संचार र विमानको दिशा पत्ता लगाउने लगायतका निर्माण कार्यको जिममा लिएको थाइल्याण्डको सरकारी विमान कम्पनी एरो थाइ कम्पनीका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले, एरो थाइ कम्पनीका तर्फबाट विमानस्थलमा जडान गरिएका उपकरण र ग्राउन्ड चेकको कार्य जारी रहेको जानकारी गराए ।

नेपालको विगत तीन वर्षको मौसमको अवस्थालाई विमानस्थलमा परीक्षण उडान संचालन तयारीका लागि आइपुगेको थाइल्यान्डको टिमले अध्ययन गरिरहेको र फेब्रुअरीको दोस्रो सातादेखि मौसम सुधार आउने देखिएकाले २१ तरिखमा परीक्षणको विमान ल्याउने तयारी गरिएको उनले बताए ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे निरिक्षणका लागि मन्त्री आलेसँगै मन्त्रालयका सचिव,नेपाल नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक,राष्ट्रिय गौरव आयोजनाका निर्देशक,राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक लगायतको टोली सहभागी थियो ।

कार्यक्रममा संघीय संसद सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह,रूपन्देही क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य प्रमाेद यादव लगायतले रूपन्देही र लुम्बिनी प्रदेशकै गहनाकाे रूपमा विकास हुदै गरेको गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट अब भने अन्तर्राष्ट्रिय उडान हुने लगभग निष्चितजस्तै भएको भन्दै बुद्वजयन्ती अगावै अन्तर्राष्ट्रिय उडान हुनेगरि काम अगाडि बढाउनुपर्नेमा जाेड दिए ।
साे अवसरमा पत्रकारहरूले पटकपटक सम्भावित मिति घाेषणा गरिने तर काम नसकिने हुदै आएको भन्दै बुद्वजयन्ती अगावै अन्तर्राष्ट्रिय उडान हुने आधारबारे जिज्ञासा राखेका थिए ।