बुुटवल, १४ माघ ।
बुटवल उपमहानगरपालिकाको वडा नं ७ को नयाँ ठाउँ र पुनर्निर्माण गरिएको भवनबाट सेवाप्रवाह सुरु भएको छ । दीपनगरमा पुनर्निर्माण र मर्मतसम्भार गरि वडाको नयाँ कार्यालय स्थापना भएको हो ।

वडा नं ७ को नयाँ कार्यालय भवनको शुक्रबार एक कार्यक्रमकाबीच उपमहानगरका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका हुन् ।
सो अवसरमा सुवेदीले वडाबाट हुने सेवाप्रवाहलाई सहज, छरितो र प्रभावकारी बनाउन आग्रह गरे ।
टोल स्तरबाट छलफल भएर वडास्तरका र वडाबाट छलफल भएर नगर स्तरका योजना बन्नुकासाथै छलफलबाटै नगरको सहरी विकास गुरुयोजना तय भएको उल्लेख गर्दै प्रमुख सुवेदीले आवधिक योजनाहरु पूरा हुने र दीर्घकालीन योजनाहरुले तीब्रता पाउने काम भइरहेको जानकारी गराए ।
वडा अध्यक्ष कमलप्रताप थापाले आफुहरु नागरिकका लागि सेवक भएर र वडालाई सेवा केन्द्रका रुपमा सेवा प्रवाह गरिरहेको बताउदै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता युवराज गिरी, पूर्वउपमेयर रामप्रसाद खनाल, सिद्देश्वरी लालकुमारी माविका अध्यक्ष सागर न्यौपाने, शिवनगर सामुदायिक वनका अध्यक्ष नारायणबहादुर घिमिरे तथा कार्यपालिका सदस्य सीता थापा आचार्यलगायतले बोल्दै वडाका सेवाप्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
करीब ३२ लाख बराबरको लागतमा वडाको कार्यालय भवनको पुनर्निर्माण भएर सेवा सुचारु गरिएको वडाका सचिव राजु लामिछानेले जानकारी दिए । माथिल्लो ट्रससहित दुई तला र आठ वटा कोठा तथा पार्किङ सहितको उक्त नयाँ भवन साविकको दीप प्राविको खाली रहेको भवनलाई पुनर्निर्माण गरि बनाइएको हो ।
यसैबीच बुटवल उपमहानगरको वडा नम्बर ८ को नयाँ भवन निर्माणका लागि आवश्यक जग्गा प्राप्ति भएको सडक डिभिजन परिसरमा रहेका पुराना र जीर्ण अवस्थाका कर्मचारी आवासलाई हटाएर नयाँ आवास गृह निर्माण गरिएको छ ।
उक्त आवास गृहको आज एक कार्यक्रमकाबीच उपमहानगर प्रमुख शिवराज सुवेदीले सडक डिभिजन प्रमुख जयलाल मरासिनीलाई हस्तान्तरण गरे ।
करिब ४८ लाख बराबरको लागतमा प्रति परिवार चारवटा कोठासहितको छ वटा आवासगृह र एउटा योगा हल निर्माण गरि हस्तान्तरण गरिएको वडा ८ का अध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिए ।
सहरको बीच भाग र धेरै जनघनत्व रहेको वडाका रुपमा रहेको वडा न ८ को व्यवस्थित र आधुनिक नयाँ भवन निर्माणको प्रक्रिया सुरु भएको उपमहानगरपालिकाले जनाएको छ । वडा कार्यालयका लागि आवश्यक जग्गा भोगाधिकारसहित उपमहानगर मातहतमा आइसकेको जनाइएको छ ।
यसैबीच बुटवल उपमहानगरपालिकाले बुटवल–१०, कालिकानगरमा कराँते एकेडेमीका लागि प्रशिक्षण हलसहितको भवन निर्माण भएको छ ।
कराँतेका विभिन्न इभेन्ट्सको प्रतियोगिता र प्रशिक्षण सञ्चालन गर्नेगरी निर्माण गरिएको एकेडेमी भवनको बिहीबार एक कार्यक्रमकाबीच प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेको उपमहानगरपालिकाले जनाएको छ ।






