कपिलवस्तु,१२ माघ ।
प्रशासनकाे आदेश अवज्ञा गरेर विद्यालय सञ्चालन गर्ने कपिलवस्तुका दुई निजी विद्यालयका प्रिन्सिपललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको कृष्णनगर नगरपालिकाका सेन्ट ज्युड्स अङ्ग्रेजी बोर्डिङ स्कुल र ब्राइट वे अङ्ग्रेजी बोर्डिङ स्कुलका प्रिन्सिपललाई बुधबार इलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रण लिएको हो । विश्वभर फैलिएको काेराेना महामारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको आदेश उल्लंघन गर्दै भौतिक रूपमै कक्षा सञ्चालन गरेका कारण उनिहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ती दुवै विद्यालयले कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई विद्यालयमा राखेर पठनपाठन गराइएको अवस्थामा उनिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । काेराेना नियन्त्रणका लागि प्रशासनले जारी गरेको आदेशका कारण अन्य सबै शिक्षण संस्था बन्द रहेको अवस्थामा ती विद्यालयले कक्षा सञ्चालन गरिरहेकाे भनि स्थानीयले सूचना दिएपछि उनिहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता, प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

बिहान ११ बजे नियन्त्रणमा लिएका उनिहरूलाई भौतिक रूपमा कक्षा सञ्चालन नगर्ने सर्तमा छाडिएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले माघ ४ गते जिल्ला भरीका विद्यालयमा भौतिक रूपमा उपस्थित भएर कक्षा सञ्चालन नगर्न आदेश जारी गरेको थियो ।