बुटवल,९ माघ ।
पर्यटन क्षेत्रमा दक्ष कामदार उत्पादन गर्ने उद्देश्य सहित बुटवलमा आइतबारदेखि दश महिने पेशागत कूक तालिम सुरू भएको छ ।
नेपाल सरकार र स्वीस सरकारको आर्थिक सहयोग तथा देउराली जनता प्राविधिक शिक्षालय बुटवलको प्राविधिक सहयोग र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको समन्वयमा तालिम शुरु भएको होे ।
तालिमकाे होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले शुभारम्भ गरेका हुन् ।

सो अवसरमा बोल्दै सराेकारवालाहरूले यस क्षेत्रमा होटल रेष्टुरेन्टहरुमा दक्ष कामदारको अभाव भएको भन्दै तालिम लिएर दक्ष भएकाहरुलाई रोजगारीको कुनै अभाव नहुने बताए । बुटवल तथा यस आसपासको क्षेत्र पर्यटनको ‘हव’ को रूपमा विकास भएको भन्दै उनिहरूले स्तरीय र सुविधासम्पन्न होटलमा काम गर्न तालिम अपरिहार्य रहेको बताए ।
१ हजार ६९६ घण्टे तालीममा ४० जना युवा युवतीको सहभागी रहेको छ । तालिम सिटिइभिटीको पाठ्यक्रम अनुसार पढाउने÷सिकाइने छ ।
तालिम प्रदायक संस्था देउराली जनता प्राविधिक शिक्षालयका कार्यक्रम संयोजक लक्ष्मण रानाले तालिमले कामदारको रोजगार क्षमतामा धेरै सुधार ल्याउने र व्ष्यवसाय गर्न चाहनेहरुलाई निकै फलदायी हुने बताए ।

कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीका अध्यक्ष राम प्रसाद गौतमले पछिल्लो समयमा होटल तथा पर्यटन क्षेत्रमा लगानी बढदै गरेकोमा दक्ष कामदारको अभाव भएकोले तालिमले शिपमूलक जनशक्ति तयार गर्न आफूहरुले प्रयास थालेको बताए।

तालिम पूर्ण रुपमा निःशुल्क रहेको संघका महासचिव माधव कुमार खनालले बताए ।