बुटवल, ५ माघ ।
रुपन्देही व्यापार संघको पुस १९ गते सम्पन्न २० औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम बुधवार बुटवलमा सम्पन्न भएको छ ।

पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री एंव प्रदेशसमा सदस्य भोजप्रसाद श्रेष्ठले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि साना व्यवसायहरुको संरक्षण र प्रबद्र्धन गर्न राज्यले आवश्यक नीति नियम निर्माण गर्नुपर्नेमा जाेड दिए ।
व्यापार संघले सामाजिक उत्तरदायित्व वहनमा देखाएको भूमिकाको प्रशशा गर्दै यस क्षेत्रको आर्थिक विकासका लागि निजी क्षेत्रसंगको सहकार्यलाई राज्यका अंगहरुले कहिल्यै नजरअन्दाज गर्न नहुने बताए ।
प्रमुख अतिथि श्रेष्ठले संघले बुटवलको विकासमा गरेको योगदानलाई कुनै कुरासंग दाजेर हेर्न नसकिने भन्दै हिजो संघले उठाएका मागहरु आज पनि उत्तिकै जायज भएको बिचार ब्यक्त गरे । उनलेे शिक्षा, स्वाश्थ्य र पर्यटनको विकास नै व्यवसाय प्रर्वद्धनको आधार भएको बताए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष यमलाल लोहनीले पछिल्लो समयमा कोराना र लकडाउनले व्यवसायीक क्षेत्र निकै प्रभावित भएको बताउदै आहात बनेका व्यवसायीहरुलाई राज्यले राहातका रुपमा सहयोगि हातहरु अगाडी बढाउनुपर्ने धारणा राखे ।
नव निर्वाचित अध्यक्ष कृष्णप्रसाद घिमिरेले संघको इतिहास र अग्रजहरुको मार्ग दर्शनलाई कार्यसमितिले सधै आत्मसाथ गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दै व्यावसायीक हितका लागि संघले कुनै प्रकारका असहज परिश्थितीमा पनि काम गर्ने बताए ।
उनले उद्योगीहरुको र व्यवसायीहरुको समस्या अलग प्रकृतिका छन् र फरक–फरक प्रकृतिका विषयहरु हुन् र तिनको समाधानका लागि राज्यका नितिहरु पनि फरक फरक हुनुपर्दछ भन्ने हाम्रो मान्यतालाई अगामी दिनमा पनि स्थापित गर्ने बताए ।
दुई चरणमा भएको कार्यक्रमको पहिलो सत्रको अध्यक्षता अध्यक्ष यमलाल लोहनी र दोस्रो चरण नवनिर्वाचित अध्यक्ष कृष्ण प्रसाद घिमिरेकाे अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, पश्चिम नेपाल वस व्यवसायी प्रालिका अध्यक्ष दधि खरेल, रुपन्देही व्यापार संघका अध्यक्ष माधव प्रसाद पौडेल, रुपन्देही व्यापार संघका पूर्व अध्यक्षहरु पदम प्रसाद श्रेष्ठ, मोतीलाल पाण्डे, श्रीकृष्ण पोखरेल,संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी लगायतले आ आफ्नो भनाइ राखेका थिए ।

अधिवेशनबाट अध्यक्षमा कृष्ण प्रसाद घिमिरे, बरिष्ठ उपाध्यक्षमा डिल्लीराज भण्डारी, प्रथम उपाध्यक्षमा प्रकाश ढकाल र द्धितीय उपाध्यक्षमा दिपक अधिकारी, महासचिवमा दयानिधि भण्डारी, कोषाध्यक्षमा नामदेव पाण्डे, सचिवमा फर्सुराम पन्त, सहकोषाध्यक्षमा ऋषिराम पाण्डे र सहसचिवमा मनिराम खनाल(मणी) निर्वाचित भएका थिए ।