विकास निर्माणकाे जस एक दल र ब्यक्ति बिशेषले मात्रै लिन खाेजेकाे भन्दै कांग्रेस नगर सभापति पाण्डेको आपत्ति
बुटवल,५ माघ ।
बुटवल उपमहानगरको नयाँ भवन उद्घाटन भएको छ । भवनको पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुधबार भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् ।
कार्यक्रममा पूर्वअर्थमन्त्री पाैडेलले विकासका मुद्दामा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्नेमा जाेड दिए । नगर्न सत्तारुढ दलहरुलाई आग्रह गरेका छन् ।
रुपन्देहीकाे तिनाउ दानव करिडोर संघर्ष समितिकाे आन्दोलनप्रति संकेत गर्दै उनले विकासका मुद्दामा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्नेमा जाेड दिएका हुन् ।
विकासका कामले कुनै दल विशेषलाई भन्दा पनि सबैलाई फाइदा हुने भन्दै एमाले नेता पाैडेलले तिनाउ—दानव करिडोर क्षेत्रमा सत्तारुढ दलहरुकै अगुवाइमा योजनानै प्रभावित बन्ने गरी आन्दोलन भएको आराेप लगाए ।
तिनाउ दानव करिडोर सडक मात्रै नभएर नदी नियन्त्रणको लागि पनि भएको बतउदै उनलेे आयोजनाको सफल कार्यान्वयनले नदीको क्षति रोक्ने र यसले कसैलाई घाटा नबनाउने दाबी गरे ।
पौडेलले रुपन्देहीमा बन्दै गरेको विमानस्थल, सबैतिरका ६ लेन सडक, अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल, पोखरा—नारायणगढ जाने तथा पश्चिम जाने सडकको स्तरोउन्नति, खानेपानी आयोजना, सिद्धबाबा सुरुङ मार्ग, नुवाकोट र वसन्तरपुरका दुई केबलकारका आयोजनाले केही वर्षमा यस क्षेत्रलाई नमूना बनाउने बताए ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री एवम् प्रदेश सांसद लिला गिरीले आर्थिक विकासको केन्द्र बनेको रुपन्देहीमा बुटवल उपमहानगरका नमूना योजनाले पहिचान थपेको बताए । उनले दीर्घकालीन विकासका योजनालाई उपमहानगरले व्यवस्थित रुपमा अगाडि बढाइरहेको भन्दै प्रशंसा गरे ।
पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले अब रुपन्देही आर्थिक विकासको केन्द्रका रुपमा अगाडि बढाउनुपर्ने बताए ।
उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले महानगरीय अवधारणाका साथ र बृहत बुटवलको लक्ष्यलाई साकार पार्ने उद्देश्यका साथ योजना तय गरिएको बताए । प्रमुख सुवेदीले नयाँ अत्याधुनिक प्रशासकीय भवन निर्माण पनि सोही योजना अन्तर्गतको एउटा पाटो रहेको बताउँदै पुरानो भवनका अधिकांश कार्यकक्ष भूकम्पले क्षतिग्रस्त भएकाे र सेवाग्राहीको सहजतालाई मध्यनजर गरी नयाँ भवन निर्माण गरिएको उल्लेख गरे । बुटवलको सहरी विकास गुरुयोजना, आवधिक र दीर्घकालीन योजनालाई उपयुक्त कार्यक्रम मार्फत कार्यान्वयन गरिरहेको प्रमुख सुवेदीको भनाइ थियो ।
भवन उद्घाटनको संक्षिप्त समारोहमा उपप्रमुख गुमादेवी आचार्यले नयाँ भवन अपांगमैत्री र सेवाग्राहीको सहजतालाई मध्यनजर गरेर निर्माण गरिएको बताउँदै सहज, गुणस्तरीय र छरितो सेवाप्रवाह गर्न कर्मचारीहरुलाई आग्रह गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले नयाँ भवनका संरचना र सेवाप्रवाहका बारेमा संक्षिप्त जानकारी गराउँदै सेवाप्रवाहलाई प्रभावकारी, गुणस्तरीय र छरितो बनाउनेतर्फ आफुहरु केन्द्रित रहने बताएका थिए ।
वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले समुदघाटन समारोहको सहजीकरण गरेका थिए । त्यसक्रममा भर्चुअलबाट जोडिनेहरुले उपमहानगरको नयाँ भवनसंगै सेवाप्रवाहलाई पनि प्रभावकारी बनाउन सुझाव दिएका थिए ।
सोही कार्यक्रममा नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी,उद्योग बाणिज्य संघ बुटवलका प्रमुख उज्वल कसजूलगायतले भौतिक संरचनासँगै जनताले पाउने सेवा सुविधामा पनि राम्रो बन्नुपर्नेमा जोड दिएका थिए ।
विकास निर्माणकाे जस एक दल र ब्यक्ति बिशेषले मात्रै लिन खाेजेकाे भन्दै कांग्रेस नगर सभापति पाण्डेको आपत्ति नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेले रूपन्देहीमा भएका सबै विकास निर्माणका कामको कुनै एक पार्टी र ब्यक्तिले मात्रै जसलिने दुस्प्रयास गरेको भन्दै नगर प्रमुख सुवेदी र एमाले नेताहरूकाे आलोचना गरे ।
रूपन्देहीकाे विकासमा संघीय सांसद ,कांग्रेस केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खांण सहित अन्यत्र नेताहरूकाे पनि महत्त्वपूर्ण याेगदान रहेको बताउदै पाण्डेले नगरपालिकाले उनिहरूकाे नामै नलिएको र सबै दललाइ नसम्झेको भन्दै आपत्ती जनाए ।
बुटवलको नयां भवनमा सबैको योगदान रहेको भन्दै पूर्व मेयर,पूर्व जनप्रतिनिधि,तथा सबै दलहरुसंग नगरले समन्वय गर्न नसकेको दाबि गरे ।
‘नयां नगरहरुले आजसम्म कति काम गरे, २०१६ सालमा स्थापित हाम्रो नगर किन पछि पर्यो,किन जनताले पक्षमा काम हुन सकेन,बुटवलको मूल सडक,ज्योतिनगर पहिरो पिडीतको अवस्था,अब्यबस्थित सुकम्बासी ब्यबस्थापन किन भएन ’उनको प्रश्न छ ।
नगरले काम गरे वा नगरेको बारेमा जनताले मुल्यांकन गरिरहेको उनकाे भनाइ थियो ।
करिब तीन बिगाहा क्षेत्रफलमा निर्माण गरिएको भवनमा प्रमुख प्रशासनिकसहित अन्य छ वटा ब्लक रहने व्यवस्था गरिएको छ । पहिलो चरणमा ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन निर्माणको काम सम्पन्न भएको हो । चार तलाको अत्याधुनिक उक्त भवनको अनुमानित निर्माण लागत ५४ करोड ७८ लाख ४५ हजार ३८१ रहेको थियो ।
निर्माण कम्पनी विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले रु ४३ करोड ५३ लाख ४९ हजार ५७२ रुपैयाँ ८४ पैसामा २०७८ असारमा सक्ने गरी गत २०७७ असार ६ गते ठेक्का सम्झौता गरेका थिए । तर कोभिडका कारण केही ढिलोगरी मात्रै निर्माण कार्य सकिएको निर्माण कम्पनीले जनाएको छ ।
भवनमा अन्डरग्राउण्ड मोटरसाइकल तथा कार पार्किङ, बाहिरी पार्किङ तथा दुई अलग—अलग स्थानमा लिफ्ट र दुईवटा सिँढीको प्रवन्ध रहेको छ भने मुल गेटलाई जितगढि किल्लाको झल्को दिने गरी निर्माण गरिएको वरिष्ठ इन्जिनरियर सुमन श्रेष्ठले बताए ।






