लुम्बिनी,४ माघ ।
महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पाँच हजार क्षमताको सभाहल तथा ध्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
आगामी जेठ २ मा हुने २५६६ औँ बुद्धजयन्ती अवसरमा सभाहल र ध्यान केन्द्र उद्घाटन गर्नेगरी काम अगाडि बढाएको लुम्बिनी विकास कोषले जनाएको छ ।
‘सम्मेलन केन्द्रमा ल्यान्ड स्केपिङ र बाउन्ड्री वाललगायत सौन्दर्यीकरण मात्र बाँकी छ, यो काम पनि चालु अवस्थामा छ, झ्याल–ढोका लगाउने काम पनि जारी छ,’ कोषका योजना प्रमुख सरोज भट्टराईले भने, ‘पहिलो चरणको कामका लागि ३३ करोड रुपैयाँ खर्च भएको छ भने दोस्रो चरणको संरचना निर्माण हुनेगरी काम द्रुतगतिमा अगाडि बढेको छ ।’
लुम्बिनीमा आयोजना गरिने ठूला सभा–समारोह र ध्यान केन्द्रका लागि भवन प्रयोग गरिने छ । २०७५ वैशाख १७ मा २५६२औँ बुद्ध जयन्तीका दिन प्रधानमन्त्रीलगायतको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलन केन्द्र शिलान्यास गरेकी थिइन् । २०७७ असारभित्रै सम्पन्न गर्ने लक्ष्यसहित अर्घाखाँची–बाबुल जेभी कन्स्ट्रक्सन सिद्धार्थनगरले निर्माणको जिम्मा लिएको थियो ।
निर्धारित समयमा निर्माण कार्य पूरा नभएपछि पहिलो पटकका लागि २०७७ असोजसम्मको समय थप गरिएको थियो । सो अवधिमा कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित भएकाेले पुनः २०७९ असार मसान्तसम्म म्याद थपिएर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सम्झौताको दुई वर्ष ढिलो गरी निर्माण सम्पन्न हुन लागेको योजना प्रमुख भट्टराईले बताए ।
सम्मेलन केन्द्रको भवनमात्रै निर्माण गर्ने सुरुको योजना रहेकामा पछि विभिन्न संरचना थप गरिएको थियो । पहिलो चरणमा निर्माण थालिएको पाँच हजार मानिस अट्ने सम्मेलन तथा ध्यान केन्द्रको निर्माण सकिएको योजना प्रमुख इन्जिनियर भट्टराईले बताए । २०७७ पुसमा सम्झौता गरिएको दोस्रो चरणको काम भने आगामी असारसम्म पूरा हुने भट्टराईको भनाइ छ ।
कुल ७० करोड लागत अनुमान गरिएको चार बिघा क्षेत्रफलमा निर्माण भइरहेको सभाहल तथा ध्यान केन्द्रको पहिलो चरणको कामका लागि ३३ करोड रुपैयाँ खर्च भएको छ । २७ करोड रुपैयाँ बराबरको संरचना र सौन्दर्यीकरणको काम जारी छ । योजना प्रमुख भट्टराईका अनुसार दोस्रो चरणको काम करिब ५० प्रतिशतभन्दा बढी सकिएको छ ।
२०७३ जेठ ८ मा २५६०औँ बुद्ध जयन्ती मनाइरहँदा हावाहुरी र वर्षाले बिथोलिएपछि सभाहलको अवधारणा ल्याइएको थियो । स्थायी संरचना अभावमा राखिएको अस्थायी संरचना, स्ट्रेज र सोफाहरू पानीले भिजाएको थियो ।
त्यसको दुई वर्षपछि सम्मेलन केन्द्र तथा ध्यान केन्द्र शिलान्यास गरिएको थियो । दुई वर्षभित्रै सभागृह निर्माण गर्ने भनिए पनि परामर्शदाता छनोट, डिजाइन, लागत अनुमान र ठेक्काप्रक्रिया पूरुा गर्दा नै दुई वर्ष बितेको थियो ।
तीन सय ८६ दशमलव ८८ वर्गमिटरमा रहेको सम्मेलन केन्द्रको डिजाइन दक्षिण एसियामै नमुना भएको कोषको दाबी छ । सम्मेलन केन्द्रमा आवश्यकताअनुसार अटोमेटिक पार्टेसन गर्न सकिने प्रविधि जडान हुने बताइएको छ ।
पहिलो चरणमा सम्मेलन केन्द्र भवन, दुई शौचालय र कन्ट्रोल रुम बनाइएको छ । सम्मेलन केन्द्र तथा ध्यान केन्द्रमा मौसमअनुसार छ देखि आठ डिग्रीसम्म तापक्रम तल–माथि हुनसक्ने इपिसएस प्यानल प्रयोग गरेर छानो लगाइएको छ । लुम्बिनी अत्यन्त गर्मी हुने तराई क्षेत्रको स्थल भएकाले तापक्रम तल–माथि गर्न मिल्नेगरी प्यानल प्रयोग गरिएको कोषले जनाएको छ ।
निर्माण कार्यको ठेक्का सम्झौता असार मसान्तसम्मको रहेपनि आगामी बुद्धजयन्तीमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेगरी काम भइरहेको लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीले जानकारी दिए ।
जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टाँगेले बनाएको लुम्बिनी विकास गुरुयोजनामा सम्मेलन केन्द्र नसमेटिएको भएपनि यसलाई गुरुयोजनासँग मेल खानेगरी निर्माण गरिएको कोषका उपाध्यक्ष अवधेश त्रिपाठीको भनाइ छ ।






