बुटवल,२५ पुस ।
तिनाउ–दानव करिडोर पिडित संघर्ष समितिले आज पनि बुटवल उपमहानगरपालिकाको कार्यालय अगाडी प्रदर्शन गर्दै धर्ना दिएका छन् ।
उनीहरुले निर्माण भइरहेको तिनाउ–दानव करिडोर निर्माणको काम रोक्न माग गर्दै उपमहानगरको गेट अगाडि नाराबाजी गर्दै दुई घण्टाबढी धर्ना समेत दिएका हुन् ।

करिडोर क्षेत्रका स्थानीयले आफूहरुलाई सहि व्यवस्थापन नगरि करिडोर निर्माण गर्न लागेको भन्दै चरणवद्ध रुपमा आन्दोलन गर्दै आएका छन् ।
तिनाउ–दानव नदी करोडर क्षत्रका विभिन्न टोलका स्थानीयहरुले बुटवल नगर परिक्रमा गर्दै उपमहानगरको गेट अगाडि पुगेर धर्ना दिएका छन् । उनिहरुले ‘कोरिडोर चाहिँदैन, सुकुम्बासी मास्न पाइँदैन’ लगायतका नारा लगाएका थिए ।
धर्ना पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै संघर्ष समितिका सल्लाहकार बिरेन्द्र बिक,जनता समाजवादी पार्टीका नेता बामदेब भुसाल लगायतले करिडोर क्षेत्रभित्रका सबै घर–टहरा तथा जग्गाको समस्याहरु समाधान गरेर मात्रै निर्माणको काम सुरु गर्नु पर्ने माग गरे ।
आफुहरु बिकास बिरोधी नभएको भन्दै उनिहरुले बिकासको नाउमा गरिब जनताको उठिबास गर्न नपाइने बताए ।
बुटवल उपमहानगरको महत्वकांक्षी योजनाका रुपमा रहेको तिनाउ र दानव नदी करिडोरको ठेक्का सम्झौता भएको लामो समयपछि कार्यान्वयनको चरणमा गएपनि स्थानीयले अबरोध सिर्जना गर्न थालेका छन् । गत वर्षको मंसिर १० गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले करिडोरको शिलान्यास गरी तत्कालै काम अघि बढाउन निर्देशन दिए पनि घर–जग्गा व्यवस्थापनको टुङ्गो नलाग्दा अन्यौलता बढेको छ ।
तिनाउ नदी र दानव नदीको दीर्घकालीन व्यवस्थापन तथा पर्यटनको विकासका लागि नदी किनारमा सडक निर्माणको काम सुरु गर्नुपर्ने भएपनि त्यस क्षेत्रमा पर्ने घर, टहराहरुको व्यवस्थापन नहुँदा यो समस्या सिर्जना भएको हो ।
करिडोर क्षेत्रभित्रका सबै घर–टहरा तथा जग्गाका समस्याहरु समाधान गरेर मात्रै निर्माणको काम सुरु गर्नु पर्ने आफूहरुको माग रहेको संघर्ष समितिका संयोजक आत्मबहादुर रानाले बताए । बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले भने करिडोर क्षेत्रमा पर्ने बस्तीलाई व्यवस्थापन गर्नका लागि काम भइरहेको बताए ।
विकासको काममा कसैले पनि अवरोध गर्न उचित नहुने बताउँदै उनले करिडोर प्रभावित जनताका मागलाई उचित रुपले सम्बोधन गरिने बताउँदै आएका छन् ।






