बुटवल,२४ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सहकारी संस्था मुलुकको समृद्धिकाे आधार भएको भन्दै सहकारीहरूले उत्पादनशिल क्षेत्रमा लगानी गरेर सदस्यहरूलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् । उनलेे सहकारीले शेयर सदस्यको भावनात्मक सम्बन्ध जोड्दै सामाजिक अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं साधारण सभामा बोल्दै मुख्यमन्त्री केसीले ५ दलीय गठबन्धनको सरकारले समृद्ध र आत्मनिर्भर प्रदेश बनाउदै संघात्मक मोडेलको नतिजा दिन चाहेको बताए ।
यो लक्ष्य हासिल गर्न सहकारीको साथ आवश्यकता रहेकोमा उनलेे जोड दिए । सहकारी सम्बन्धि केही ऐनहरु बनाईएनि ब्यवहारीक भएकी भएनन भन्ने बिषयमा छलफल गरेर सुधार गर्नुपर्ने भए सुधार गर्नुपर्ने धारणा राखे । उनले गठबन्धनको सरकार बनेपछि सहकारीलाई छुट्टै मन्त्रालय स्थापना गरेर व्राण्ड बनाउन कोसिस गरेको बताए ।
आम जनतालाई सहकारीकरण गर्दै वित्त ब्यवस्थापनलाई ठिक ढंगले उत्पादनसँग जोड्न सकिने मुख्यमन्त्री केसीको भनाई छ । कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले सहकारी अभियानबाट आर्थिक परिवर्तनसँगै महिलाहरुमा नेतृत्व गर्न सक्ने क्षमताको विकास भएको दाबी गरेे ।
सहकारीलाई उत्पादनसँग जोड्न आवश्यकता रहेको बताउँदै उनलेे सहकारीले आर्थिक क्रियाकलापसँगै सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले सहकारी संस्थाको अनुगमन फितलो भएको बताए । काठमाण्डौंका सहकारीले बुटवलमा धमाधम शाखा कार्यालय खोलेर बचतको लागि पैसा पठाउने गरेको बताउँदै उनले यसको नियमन र अनुगमन हुन नसकेको बताए । कार्यक्रम सहकारीका अध्यक्ष गाेबिन्द खनालको सभापतित्वमा सम्पन्न भएको थियोे । सहकारीको १ हजार ३७९ शेयर सदस्य रहेका छन ।






