बुटवल,२४ पुस ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास र विस्तारका लागि बजेटको कमी नहुने बताएका छन् ।
शनिबार लुम्बिनी विकास कोषको अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले भगवान गौतमबुद्धको जन्मस्थल र बुद्धकै नामले लुम्बिनी देश–विदेशमा चिनिएकाले यसका विकासका लागि सबै सकारात्मक रहेकाले बजेट अभाव हुन नदिने बताएका हुन् ।
सो अवसरमा लुम्बिनी क्षेत्रमा निर्माण भइरहेका विभिन्न भौतिक संरचनाहरुको काम समयमै सम्पन्न गर्न समेत मन्त्री आलेले निर्माण व्यवसायीहरुसँग आग्रह गरे । मन्त्री आलेले लुम्बिनी क्षेत्रमा निर्माण गरिने सबै संरचनाहरु गुणस्तरयुक्त हुनुपर्नेमा समेत जोड दिए ।
लुम्बिनी विकास कोष अन्तर्गत रहेको ११ सय ५५ बिगाहा जमिनमा भौतिक संरचना निर्माण भइसकेका छन् । योजना अनुसार ८१ प्रतिशत काम सम्पन्न भइसकेको भन्दै बाँकी काम चाँडै टेण्टर प्रक्रियाबाट सुरु गराउन समेत लुम्बिनी विकास कोषका पदाधिकारीलाई मन्त्री आलेले निर्देशन दिएको लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीले जानकारी दिए ।






