बुटवल,२३ पुस ।
पछिल्लो तीन दिनयता रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीन दिनमा १ हजार १२ जनाको एन्टिजेन परीक्षण गर्दा १५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले जानकारी दिए ।
ढकालका अनुसार मंगलबार २०० जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा, बुधबार २८० जनाको परीक्षण गर्दा ३५ जनामा र बिहीबार ५३२ जनाको परीक्षण गर्दा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्ला दिनहरुमा भारतमा संक्रमणको दर बढेपछि यसको असर नेपालमा पनि देखा पर्न थालेको उनको भनाइ छ ।
बेलहिया नाकामा भएको एन्टिजेन परीक्षणमा पछिल्लो चार दिनमा संक्रमितहरुको संख्या लगातार बढ्दै गएको उनले बताए ।
भारततर्फबाट लामो दुरीबाट आएका, भारतमा बास बसेकाको अनिवार्य एन्टिजेन परीक्षण गर्ने गरिएको ढकालले बताए । तर सुनौली, नौतनवा लगायतका स्थानमा किनमेल गर्न जाने नेपालीहरुको भने एन्टिजेन परीक्षण गर्ने गरिएको छैन । भारतका नयांदिल्ली, कोलकत्ता, बनारस लगायतका क्षेत्रबाट आएका नेपालीहरुमा संक्रमण देखिएको छ ।
संक्रमण दर बढेसंगै भारतबाट आउनेहरुको एन्टिजेन परीक्षण गर्न सीमा नाकामा हेल्थ डेस्कका लागि स्थान सांघुरो हुंदा परीक्षणमा समस्या भएको ढकालले बताए । एन्टिजेट परीक्षणमा सिद्धार्थनगर नगरपालिका, रेडक्रस लगायतका संस्थाले पनि स्वास्थ्य कार्यालयसंग सहकार्य गरेका छन् । अहिले नाकामा एन्टिजेन परीक्षणका लागि जनशक्ति पर्याप्त रहेको ढकालले बताए । बिहान ६ बजेबाटै शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिइएको उनले बताए ।
यसअघि पनि नेपालमा भारतबाट आउने व्यक्तिबाटै कोरोना संक्रमण फैलिएको भन्दै उद्योगी व्यवसायीले सीमा नाकामा परीक्षणलाई प्रभावकारी बनाउन माग गरेका छन् । मुख्य भन्सार नाका वाहेक अन्य नाका र खुला सीमामा कडाई गर्न पनि व्यवसायीले माग गरेका छन् ।






