बुटवल,२३ पुस ।
रुपन्देहीको तिलोत्तमामा मेला आयोजनाको विषयलाई लिएर व्यवसायिक संस्थाहरु बीचको विवाद समाधान भएको छ ।

कसले मेला आयोजना गर्ने भन्ने बिषयमा दुई व्यवसायिक संस्थाहरुबीच भएको बिवाद अन्ततः आपसी सहमतिमा टुंगिएको हो ।

तिलोत्तमा उद्योग ब्यापार संगठन रुपन्देहीले शुक्रबार पत्रकार सम्मेलन गरी मेला सञ्चालन गर्ने बिषयमा दुई ब्यवसायीक संस्थाबीच सहमति भएको जानकारी गराएका हुन् ।

यससँगै तिलोत्तमा चेम्बर अफ कमर्स नै मेला आयोजक हुने भएको छ । मेला लगाउन पाउने पालो आफ्नो भएको बताउँदै आएको तिलोत्तमा उद्योग व्यापार संगठनले चेम्बरलाई नै आयोजना गर्न दिने गरि सहमति जनाएको हो ।

मेला सञ्चालन गर्ने बिषयमा व्यवसायिक संस्थाहरु बीच विवाद हुँदा सकारात्मक सन्देश नजाने भन्दै आपसी सहमतिमै मेला सञ्चालन गर्न दबाब दिएपछि अन्तिममा आएर सहमति भएको हो ।

तिलोत्तमा उद्योग ब्यापार व्यापार संगठन रुपन्देहीका अध्यक्ष प्रेम घर्ती मगरले ब्यवसायीक संस्थाहरुबीच सहमति र सहकार्यमै मेला सञ्चालन गर्नुपर्ने व्यवसायी सदस्यहरुको सल्लाह सुझाब अनुसार सहमतिमा पुगेको जानकारी गराए ।

तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष बाबुलाल भुसालले मेला सञ्चालन गर्ने बिषयमा व्यवसायिक संस्थाहरु बीच सहमति कायम भएको भन्दै आफ्नो तर्फबाट सहमतिको पालना हुने प्रतिवद्धता जनाए ।