बुटवल,२१ पुस ।
बुटवलमा रहेको जी २५ क्लवले रक्तदान गरेको छ ।

सामाजिक काममा सक्रिय क्लवले बुधबार छैंठौं पटक रक्तदान गरेको जनाएको छ ।

रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा बुटवलको देवीनगरमा सम्पन्न रक्तदान कार्यक्रममा क्लवका पदाधिकारी, सदस्य तथा मार्गदर्शक, संरक्षक र सुभेच्छुक समेत गरि ११० जनाले रक्तदान गरेको क्लवले जनाएको छ ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले रक्तदान जीवन दान भएको बताउदै अझैपनि ग्रामिण क्षेत्रमा रक्तदान गर्ने परम्परा विकास हुन नसकेकाले प्रचारप्रसार अपरिहार्य रहेको बताए । जी २५ क्लवले सामाजिक क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै उनले अझै उदाहरणीय काम गर्न आग्रह गरे ।

क्लवका अध्यक्ष निर्मल नेपालले व्यवसायिक व्यक्तिहरुको एकताबाट क्लव स्थापना गरिएको र क्लवले नितान्त सामाजिक काम गर्ने जानकारी गराए ।

रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस र रक्तदानको बारेमा सामाजिक रुपमा जनचेतना अभिबृद्धिको लागि समेत निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको उनले बताए ।

कार्यक्रममा रक्तसञ्चार सेवा केन्द्र बुटवलकी प्राविधिक राधा शर्माले रक्तदानको महत्वमाथि प्रकाश पार्दै रक्तदान गर्दा हुने फाईदा, रक्तदान गर्न नमिल्ने अवस्था लगायतका विषयमा जानकारी गराएकी थिइन् ।

क्लवका उपाध्यक्ष जगदिश न्यौपानेको संयोजनमा भएको कार्यक्रमको सञ्चालन महासचिव तेजेन्द्र खनालले गरेका थिए ।