पाल्पा,२१ पुुस । चिकित्सक सहित कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल पाल्पाकाे अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द भएको छ ।

निमित्त मेडिकल सुपरिटेण्डेण्ट सहित ६ जना मेडिकल अधिकृत, एक जना डेन्टल सर्जन, एक जना ल्याब टेक्निसियन र एक जना पारामेडिक्स सहित ९ जनामा लक्षण सहितको कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार अस्पतालबाट प्रदान हुने आपतकालीन, प्रसूति सेवा, ल्याब, सुरक्षित गर्भपतन र बीमा रिफर बाहेकका अन्य चिकित्सकीय सेवाहरु अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको हो ।

१० जना कर्मचारीकाे पीसीआर परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।