काठमाण्डौ,१७ पुस ।
नेपालमा शनिबार थप ३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर पीसीआर र एन्टिजेन गरी २० हजार ९५९ जनाको नमूना परीक्षण गर्दा एक दशमलव ८२ प्रतिशत अर्थात ३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज पुष्टि भएको संख्या दैनिक विवरण अनुसार गएको कात्तिक २६ गतेपछिको सबैभन्दा धेरै हो । यस्तै पछिल्लो २४ घण्टामा २५२ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म आठ लाख १२ हजार २१० जना कोरोना संक्रमित निको भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको बिबरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ ।
अहिले नेपालमा चार हजार ९६९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा ५९ हजार एक सय १२ जनाले कोरोना विरुद्धको खोप लगाएको छन् । यो सहित नेपालमा पूर्ण मात्रा खोप लगाउनेको संख्या एक करोड तीन लाख ८४ हजार आठ सय ५१ जना पुगेको छ ।
एक करोड ४० लाख ३६ हजार ६ सय ६१ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।






