काठमाण्डौ,१६ पुस ।
नेपालमा शुक्रबार थप दुई सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी नौ हजार ८४ जनाको नमुना परीक्षण गर्दा दुई सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई सय १२ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म आठ लाख ११ हजार नौ सय ५८ जना कोरोना संक्रमित निको भएका छन् ।
यही अवधिमा चार जना संक्रमितको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म ११ हजार पाँच सय ९४ जना संक्रमितको मृत्यु भएको छ । अहिले नेपालमा चार हजार आठ सय ७९ जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् ।
यसैबीच नेपालमा कोरोना भाइरसविरुद्धको कम्तीमा पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ४० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा एक लाख ३९ हजार एक सय ५२ जनाले खोप लगाएसँगै कोरोनाविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोड ४० लाख ३६ हजार ६ सय ६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा एक करोड तीन लाख ८४ हजार आठ सय ५१ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।






