बुटवल,११ पुस ।
नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले रुपन्देहीको बुटवल स्थित खस्यौली ब्यारेक हाताभित्र निर्माण हुने सैनिक आवासीय महाविद्यालय भवन तथा नं २२ बाहिनी अड्डा योगिकुटी ब्यारेक हाताभित्र निर्माण हुने सैनिक अस्पतालकोे शिलान्यास गरेका छन् ।

सैनिक कल्याणकारी योजना अन्तर्गत नेपाली सैनिक कल्याणकारी कोषको लगानीमा निर्माण हुन लागेको सैनिक आवासीय महाविद्यालय भवन तथा सैनिक अस्पतालकोे आइतबार एक कार्यक्रमका बीच प्रधान सेनापति शर्माले शास्त्रोक्त विधि बमोजिम शिलान्यास गरेका हुन् ।

सोहि अवसरमा प्रधान सेनापति शर्माले बुटवल उपमहानगरपालिका–१ मा अवस्थित ऐतिहासिक जीतगढी किल्लाको समेत अवलोकन गरेका छन् ।

अवलोकनका क्रममा प्रधान सेनापति शर्मालाई गरुडदल गणका गणपति प्रमुख सेनानी रामकृष्ण श्रेष्ठले ऐतिहासिक जितगढी किल्ला पुन निर्माण कार्य सम्बन्धी गुरु योजनामा आधारित रहि संक्षिप्त जानकारी गराएको .गरुडदल गणले जनाएको छ ।

कार्यक्रममा स्थानीय इतिहास सम्बन्धी जानकार रविन्द्र लाकौल तथा वडा अध्यक्ष महेन्द्र प्रसाद लिगल समेतको उपस्थिती रहेको थियो ।