म्याग्दी,१३ मंसिर ।
उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका १ बेग खोलाको औल भन्ने ठाउँमा आज (सोमवार) बेलुकी जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन ।

मृत्यु हुनेमा बेग खोलाकी ३० वर्षीया गौमाया विक, ४० वर्षीय जीप चालक दुतबहादुर थापा, २५ वर्षीय खिम पुन र ५८ वर्षीय खिमनाथ शर्मा रहेका म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामकुमार राईले जानकारी दिए ।

जीप दुर्घटनामा मृत्यु हुने र घाइते हुनेहरूमा चालकसहित आठै जना रघुगंगा गाउँपालिका १ बेग खोलाका रहेका छन् ।

सदरमुकाम बेनीबाट बेग खोलाको गाउँतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरूमा बेग खोलाका २० वर्षीय भीम फगामी, ४५ वर्षीय बेलबहादुर विक, २३ वर्षीय मनोज पुन र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा रहेका डीएसपी राईले बताए ।

घाइते भएकाहरूको बेनी अस्पताल म्याग्दीमा प्राथमिक उपचार गरी थप उपचारका लागि तीन जनालाई पोखराको मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । घाइते एक जनाको शेरपुञ्जाको बेनी अस्पतालमै उपचार भइरहेको छ ।

उकालो बाटोमा बेगखोला गाउँतर्फ जाँदै गरेको जीप सडकबाट तल खसेर दुर्घटनामा परेको र दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।