बन्दका क्रममा लुम्बिनीका ४४ सहित २२५ पक्राउ
बुटवल,३० कार्तिक ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्द सकिएसँगै जनजिवन सामान्य बन्दै गएको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार नेपाल बन्दको आयोजना गरेको हो ।
बन्द सकिएसँगै रुपन्देही लगायत देशका बिभिन्न जिल्लाहरुमा सार्वजनिक तथा निजि सवारीसाधनहरु चल्न थालेका छन भने पसलहरु समेत खुल्ने क्रम सुरु भएको छ ।
नेकपाले मंगलबार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मका लागि नेपाल बन्दको घोषणा गरेको हो । बन्दका कारण देशभरका सार्वजनिक यातायात, शैक्षिक संस्था, उद्योगधन्दा बन्द भएका थिए भने निजी सवारी साधनहरु फ्याट–फुट्ट रुपमा चलेका थिए । बन्दका क्रममा कुनै अप्रिय घटना नभए पनि बन्द गराउन भन्दै हिड्ने केही नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।
बन्दका क्रममा लुम्बिनी प्रदेशका ४४ सहित देशभरबाट २२५ जना बन्दकर्ता पक्राउ परेको केन्द्रिय प्रहरी प्रवक्ता बसन्त बहादुर कुँबरले जानकारी दिए । साथै बन्द कर्ताले ४ वटा सवारीसाधन सामान्य तोडफोड गरेको प्रवक्ता कुँबरले बताए । बन्दका क्रममा पक्राउ परेका सबै बन्द कर्तालाई छाड्ने तयारी भएको कुँबरले बताए ।






