दाङ,९ भदौ ।
लुम्बिनी प्रदेश सभाको चालू आठौँ अधिवेशन भदौ ११ गतेबाट अन्त्य हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा मंगलबार साँझ बसेको बैठकले प्रदेश सभाको चालू आठौँ अधिवेशन भदौ ११ गतेबाट अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालू आठौँ अधिवेशन भदौ ११ गते बिहीबार राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरेले जानकारी दिए ।
बैठकले प्रदेशको स्थायी संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने अवधि थप गर्ने निर्णयसमेत गरेको छ । प्रदेश सरकारको स्थायी संगठन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन आवश्यक अध्ययन तथा सर्वेक्षणको अवधि थप गर्ने प्रस्ताव बैठकमा पेश भएको थियो ।
मुख्यमन्त्री आचार्यले बैठकमा प्रदेश सरकारको कामलाई थप प्रभावकारी बनाउन निर्देशन दिएकाे प्रवक्ता घिमिरेले बताए ।
मुख्यमन्त्री आचार्यले विकास निर्माणका कामलाई गति दिन र नागरिकलाई प्रदान गरिने सेवा प्रवाहलाई चुस्त,प्रभावकारी तथा जनमुखी बनाउन मन्त्रीहरूको भूमिका थप सक्रिय हुनुपर्ने बताए । मन्त्रालयको जिम्मेवारीअनुसार योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन निर्देशन दिएका हुन् ।
प्रवक्ताकाे जिम्मेवारी पुनः घिमिरेलाई
लुम्बिनी प्रदेश सरकारको प्रवक्तामा सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरेलाई जिम्मेवारी दिईएको छ । मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रीको नयाँ जिम्मेवारी पाएका घिमिरेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । यस अघि स्वास्थ्यमन्त्री रहदा पनि घिमिरेलाइनै सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।






