बुटवल,३० कार्तिक ।
पेट्रोलियम पदार्थमा हालै भएको मूल्यवृद्धिले ढुवानी यातायात व्यवसायीको पेशा संकटमा परेको भन्दै तत्काल मुल्य बृद्धि फिर्ता लिन माग गरेका छन ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेश र पश्चिमाञ्चल यातायात व्यवसायी समितिले सोमवार एक विज्ञप्ति जारी गरि मुल्य बृद्धि फिर्ता नलिए ढुवानीका साधन घर ग्यारेजमा थन्काउने चेतावनी दिएका छन ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशका संयोजक यमप्रसाद पाण्डे र पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव जित बहादुर भाटद्धारा संयुक्त रुपमा जारी विज्ञप्तिमा मूल्यवृद्धिले नेपाल ट्रक यातायात व्यवसायीलाई निकै समस्यामा पारेकोले मूल्यवृद्धि तत्काल फिर्ता गर्न नेपाल आयल निगम संग जोडदार माग गरिएको छ ।
विसं २०७८ बैशाख ५ गते डिजलको मूल्य १०४रुपैयां हुदां तय भएको ढुवानीका सवारी साधनको भाडा हाल ११९ रुपैयां हुदा पनि साविकको भाडामा ढुवानी गर्नु पर्दा व्यवसायी समस्यामा रहेको उल्लेख छ ।
नेपाल सरकार यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा प्रति लिटर ५ रुपैयां हेरफेर हुदा सोही अनुरुप भाडां समायोजन गर्नु पर्ने व्यवस्था हुदा पनि त्यो नहुनु दुःखद पक्ष भएको व्यवसायीकाे ठहर छ ।
त्यसैले ११९ रुपैयां डिजलको मूल्य हुदा पनि साविकको भांडामा ढुवानी गर्नु पर्दा व्यवसायी धरासाही हुने भएकाले मूल्यवृद्धि फिर्ता नभए ढुवानीका सवारी साधन ग्यारेजमा थन्काएर राख्ने बाध्य हुने चेतावनी दिईएको छ । व्यवसायीहरु यो विसम परिस्थितीमा ढुवानीका सवारी साधन संचालन गर्न नसकिने व्यहोरा समेत विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि र भाडां समायोजन नहुदाको कारण उत्पन्न हुने परिस्थीतीको यातायात व्यवसायीका संघ संस्थाहरु जवाफदेही नहुने स्पष्ट पारिएको छ ।
पट्रोलियम पर्दाथमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै मागको सुनुवाई नभए उत्पन्न हुने परिस्थितीको नेपाल सरकारलाई अगामी दिनमा आन्तरिक आपूर्ति व्यवस्थामा पर्न जाने समस्याको जिम्मेवारी स्वयम सरकार र नेपाल आयल निगम हुने समेत विज्ञप्तिमा उल्लेख छ ।






