बुटवल,२९ कार्तिक ।
प्रतिवन्धित रेडबुल बिक्रि गरेको आरोपमा बुटवलको नेपालगञ्ज रोडबाट एक व्यापारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बुटवल–६ नेपालगञ्जरोडमा रहेको गोपालसिद्ध किराना स्टोरका सञ्चालक ६७ वर्षीय कृष्णप्रसाद पोख्रेल रहेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको संयुक्त टोलीले बुटवल–६ नेपालगञ्जरोडमा रहेको गोपालसिद्ध किराना स्टोरबाट प्रतिबन्धित भारतीय रेडबुलसहित सञ्चालक पोख्रेललाई पक्राउ गरेको हो ।

बिशेष सूचनाका आधारमा आइतबार साँझ पसलमा छापा मार्दा ३ लाख मूल्य अवैध रेडबुल फेला परेपछि पोखरेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
किराना स्टोरबाट प्रहरीले ११७ कार्टुन प्रतिवन्धित रेडबुल बरामद गरेको छ ।
बरामद सामान भन्सार चलान गरिएको र पक्राउ परेका ब्यापारीमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।