बुटवल,२८ कार्तिक ।
लुम्बिनी प्रदेशको श्रम, रोजगार तथा यातायात ब्यवस्था मन्त्रालयले यातायात ब्यवस्था कार्यालयहरुको काम थप व्यवस्थित तथा पारदर्शी बनाउने जनाएको छ ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सचिब कुमार दाहालले यातायात ब्यवस्था कार्यालयहरुबाट भएको सेवा प्रवाह प्रति सेवाग्राहीहरुको गुनासो आउने गरेको भन्दै आगामि दिनमा त्यस्ता गुनासा नआउनेगरी सेवा प्रवाहमा सुधार गर्न लागेको बताएका हुन् ।

हाल भैरहेको सेवा प्रवाहबाट सेवाग्राही सन्तुष्ट नभएको गुनासो सुनिएकाले सुधारको लागि मन्त्रालयले काम सुरु गरेको बताएको उनले बताए ।

यातायात ब्यवस्था कार्यालयहरुकाको काम बिद्युतीय प्रणालीमा लैजाने कार्य सुरु भएको जानकारी गराउदै सचिब दाहालले बिद्युतीय प्रणलीमा गएपछि सेवा सहज र पारदर्शी हुने बिश्वास ब्यक्त गरे ।

यातायात ब्यवस्थापन क्षेत्रमा उल्लेख्य सुधारको खाँचो रहेको औंल्याउदै उनले मन्त्रालयले सुधारको योजना अगाडी बढाइसकेको बताए ।

प्रदेशमा श्रम, रोजगार तथा यातायात ब्यवस्था मन्त्रालयको स्थापना भएपछि पहिलो पटक आईतबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयले प्रदेशमा करिब ५ अर्वको राजस्व प्राप्त हुने यातायात क्षेत्रमा ब्यापक सुधारको आवश्यकता रहेको जनाएको हो ।

मन्त्रालयसँग सम्बन्धित कुनै पनि गुनासो भए आफ्नो मोबाइलमा सम्पर्क गर्न आग्रह गर्दै सचिब दाहालले गुनासो आएको दुई घण्टा भित्रमा गुनासो सम्बोधन गर्ने दाबी गरे ।

मन्त्रालय अन्तर्गत बुटवल,दाङ र नेपालगञ्जमा यातायात ब्यवस्था कार्यालय तथा भैरहवा,पाल्पा र भालुवाङमा यातायात ब्यवस्था सेवा कार्यालय मार्फत सेवा प्रवाह भैरहेको भन्दै उनले यसै बर्ष नवलपरासी र कपिलबस्तुमा समेत यातायात ब्यवस्था सेवा कार्यालय स्थापना गर्ने जानकारी गराए ।

डिजिटल ट्रायल सेन्टर निर्माण गरी प्रयोगात्मक परीक्षा सञ्चालनको लागि मापदण्ड र कार्यबिधिको तयारी गरेको जानकारी गराउदै सचिब दाहालले त्यसका लागि प्रदेश सरकारले ५० लाख बजेट छुट्टाएको बताए ।

कार्यक्रममा मन्त्रालयका उप सचिब तारा ज्ञवालीले मन्त्रालयले गर्ने कामको बारेमा जानकारी दिदैं ईलेक्ट्रिकल बस सञ्चालनको लागि निजी क्षेत्रसँग सहकार्य गर्ने योजना रहेको बताइन् ।

ईलेक्ट्रिकल बस खरिदकालागि प्रदेश सरकारले १० प्रतिशतका दरले अनुदान दिने योजना रहेको समेत उनले जानकारी दिइन् ।

उनले सीप मुलक तालिम सञ्चान गर्ने , श्रम बजार सम्बन्धी अध्ययन, सावरी दुर्घटना न्यूनिकरण र सवारी ब्यवस्थापन , कम्युटरबाट यातायातको अभिलेख राख्ने कार्य गर्दै आएको जानकारी दिइन् ।

मन्त्रालयले पाल्पा यातायात ब्यवस्था सेवा कार्यालयबाट ट्रायल सेन्टर निर्माण गरी सेवा सुरु गरेको उनले बताइन् ।