बुटवल,२८ कार्तिक ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगर बनाउन सञ्चारकर्मीहरुले सामूहिक रुपमा प्रतिवद्धता जनाएका छन् ।
तिलोत्तमालाई २०७८ मंसिर २९ गते बालमैत्री नगर घोषणा गर्ने तयारी अन्तरगत आइतबार भएको अन्तरक्रियापछि सञ्चारकर्मीहरुले प्रतिवद्धता व्यक्त गरेका हुन् । सञ्चारकर्मीहरुले सामूहिक प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।
तिलोत्तमा नगरलाई बालमैत्री बनाउनका लागि आवश्यक सम्पूर्ण सूचकहरुको पालना गर्दै अघि बढ्ने नगरका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।
आवश्यक सहयोग तथा समन्वयका लागि सञ्चारकर्मीहरुमाझ आग्रह गर्दै उनले व्यवहारिक रुपमै बालमैत्री नगर बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।
अन्तरक्रियाका सहजकर्ता बालमैत्री स्थानीय शासनका राष्ट्रिय सहजकर्ता विष्णु प्रसाद चौबेले बालमैत्री नगर घोषणाको थालनी गरेर तिलोत्तमा नगरपालिकाले अन्य स्थानीय तहहरुलाई सकारात्मक सन्देश दिएको बताए ।
दिगो विकासका लक्ष्य हासिल गर्नका लागि पनि बालमैत्री स्थानीय तह हुन आवश्यक रहेको बताउँदै उनले मुलुकको आर्थिक विकासमा लागि सबै स्थानीय तहले अनिवार्य रुपमा बालमैत्री हुन आवश्यक रहेको बताए ।
दिगो विकासका लक्ष्य हासिल गर्नका लागि नेपाल सरकारले आगामी २०८७ सम्म सबै स्थानीय निकायहरुलाई बालमैत्री घोषणा लक्ष्य अनुरुप तिलोत्तमाले रुपन्देहीमा पहिलो र उदाहरणीय कामको थालनी गरेको उनले बताए ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गँगाराम आचार्यले नगरबासी, सञ्चारकर्मी, जनप्रतिनिधि तथा कर्मचारीहरुको सामूहिक पहलमा मात्रै तिलोत्तमालाई बालमैत्री नगर बनाउन सम्भव भएको उल्लेख गरे ।
कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोल,पूर्व उपाध्यक्षद्वय दिनेश पाण्डे र निरु गौतम,पत्रकार प्रकाश खनाल,लक्ष्मण पौडेल,शरण कर्मचार्य,भगवती पाण्डे लगाएत रुपन्देहीका २ दर्जन बढी पत्रकारले तिलोत्तमालाई बालमैत्री नगर बनाउन सहयोग गर्ने र दिगो कायम राख्न रचनात्मक तथा खबरदारीमूलक भूमिका निर्वाह गर्ने प्रतिवद्धता ब्यक्त गरे ।





