बुटवल, २८ कार्तिक ।
रुपन्देही व्यापार संघले आफ्नो २१ औं स्थापना दिवशको अवसरमा संघद्वारा सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल नगरमा निमार्ण गरेको हरियालीसहितको डिभाइडर बगैचा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
संघले आइतवार एक कार्यक्रमको आयोजना गरि बुटवल उपमहानगरपालिकाकी उपमेयर गुमादेवी आर्चायलाई डिभाइडरको चावी हस्तान्तरण गरेको हो ।
बुटवल उपमहानगरपालिकाको डिजाइनमा निर्माण गरिएको १२० मिटरको डिभाइडरमा सो अवसरमा वृक्षारोपण समेत गरिएको संघले जनाएको छ ।
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपमेयर आर्चायले नगरको विकासमा नीजि क्षेत्रको सहकार्यमा धेरै योजनाहरु सञ्चालन गरिएको बताउदै नगरलाई हरियाली र स्वच्छ राख्न सबै नगरवासीहरुलाई आग्रह गरिन् ।
नीजि क्षेत्रका उद्योगी व्यवसायीहरुसंग स्थानिय सरकार सधै सहकार्यमा अगाडी बढ्दै आएको स्मरण गराउदै उनले कुनै पनि समस्या भएमा आपसी छलफल गरि समाधान गर्न अग्रसर हुने प्रतिवद्धता व्यक्त गरिन् ।
संघका अर्का पूर्व अध्यक्ष टंक प्रसाद पोखरेलले व्यवसायीक हितका लागि आगामी दिनमा छुट्टै प्रकारले कार्यक्रम अगाडी ल्याउनु पर्ने सुझाव दिए ।
संघका अर्का पूर्व अध्यक्ष मोतिलाल पाण्डेले रुपन्देही व्यापार संघ निश्चित मान्यता, लक्ष्य र उद्देश्यका लागि स्थापना भएको उल्लेख गर्दै त्यसका गतिविधिहरु पनि त्यसै अनुसार हुनु पर्ने धारणा राखे ।
संघका अध्यक्ष यमलाल लोहनीले संघको २१ औं स्थापना दिवशका अवसरमा संघलाई थप व्यवस्थित र सक्रिय बनाउने प्रेरणा प्रदान गर्ने बताउदै संघ आफ्नो उद्देश्य र लक्ष्यमा सधै कटिबद्ध भएर अगाडी बढ्ने बताए ।






