बुटवल,२८ कार्तिक ।
बिपक्षी दल नेकपा एमालेका प्रदेश सभा सदस्यहरुको अनुपस्थितिका कारण लुम्बिनी प्रदेश सभाको बैठक सोमबार दिउसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

एमालेको अबरोधका कारण आधाघण्टाका लागि स्थगित भएर आजै बसेको प्रदेश सभाको अर्को बैठकमा विपक्षी दलका प्रदेश सभा सदस्यहरु अनुपस्थित रहेको जनाउदै सभामुख पूर्णबहादुर घतर्रीले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सदनलाई जानकारी गराएका हुन् ।

आजै बसेको प्रदेश सभाको नवौ अधिवेशनको ११ औ बैठकमा बिशेष समय लिएर प्रदेशका पुर्व मुख्यमन्त्री शंकर पोखरेलले बोलेर सकिए लगत्तै एमालेका प्रदेश सभा सदस्यहरूले उठेर बैठक अबरुद्ध गरेका थिए ।

तत्कालीन नेकपाबाट निर्वाचित तर वैशाख १९ गते नै माओवादी केन्द्र रोजेकी दाङकी प्रदेश सभा सदस्य विमला खत्री वली र स्वतन्त्र सांसद अजय शाहीलाई पदमुक्त गर्न माग गर्दै नेकपा एमालेले प्रदेश सभाको नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गर्दै आएको छ ।

तर प्रदेश सभा सचिवालयले भने उनीहरूको बिषयमा सर्वोच्च अदालतमा मुद्धा बिचाराधीन रहेको भन्दै अदालतमा मुद्धा चलिरहेको बिषयमा प्रदेश सभाले केही गर्न नमिल्ने बताउदै आएको छ ।