काठमाण्डाै,२८ कार्तिक ।
आज विश्व मधुमेह दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरि मनाइदैछ ।
सहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएका छन् । परीक्षणको दायरामा नआउने हुँदा जटिल अवस्थामा पुगेपछि मात्रै ग्रामीण क्षेत्रका बिरामी उपचारका लागि आउने गरेको चिकित्सक बताउँछन् । पहिले–पहिले ग्रामीण क्षेत्रमा स्थानीय उत्पादनको प्रयोग हुने गरेकामा पछिल्ला दिनमा तयारी खानाको प्रयोग बढेसँगै मधुमेहको समस्या देखिन थालेको हो ।

ग्रामीण क्षेत्रका बासिन्दाको परिश्रम घटेको र खानपान सहरको जस्तै हुन थालेकाले रोग देखिन थालेको हो । दैनिक खाजा र खानामा सहरिया चाउचाउ, बिस्कुट, पास्ता, तयारी पेय पदार्थजस्ताको प्रयोग बढी हुने गरेको छ । यससँगै मासु र मदिराको प्रयोग पनि बढेको छ ।

ग्रामीण क्षेत्रमा सहरको रहनसहन भित्रिएसँगै मधुमेहको समस्या पनि बढ्न थालेको भरतपुर अस्पतालका फिजिसियन डा कालिदास अधिकारीले बताए । खानपानमा परिवर्तन, माछा, मासु, मदिराजस्ता वस्तुको उपभोग बढेकाले गाउँमा बस्नेहरूमा समस्या देखिएको उनको भनाइ छ ।

जीवनशैलीमा परिवर्तन आएको जनाउँदै उनले सहरमा नियमित परीक्षण हुने भए पनि ग्रामीण क्षेत्रका बिरामीले परीक्षण नगर्दा अन्तिम अवस्थामा अस्पताल आउने गरेका चिकित्सकहरू बताउँछन्। कलेज अफ मेडिकल साइन्सेस भरतपुरका फिजिसियन डा प्रकाश अर्यालले सहरमा धेरै मानिस भएर धेरै बिरामी आएको भए पनि जनसङ्ख्याका अनुपातमा ग्रामीण क्षेत्रमा पनि उत्तिकै समस्या देखिएको बताए ।

घरमा अन्य सदस्यलाई मधुमेह नभएमा ३५ वर्षपछि नियमित परीक्षण गर्नुपर्ने जनाउँदै उनले घरमा कसैलाई मधुमेह भएमा २० वर्षको उमेरदेखि नै परीक्षण गरिरहनुपर्ने उनको सुझाव छ । मोटोपना, उच्च रक्तचाप र वंशाणुगत समस्या भएमा २० वर्षभन्दा कम उमेरकाले पनि परीक्षण गराइरहनुपर्ने उहाँको भनाइ छ । यस्ता वर्गले हरेक वर्ष परीक्षण गर्नुपर्छ । अन्यको हकमा तीनदेखि पाँच वर्षमा परीक्षण गर्न सकिने डा अर्यालको सुझाव छ ।
शरीरमा चिनीको मात्रा पचाउन सक्ने क्षमतामा ह्रास आयो भने रगतमा चिनीको मात्रा बढ्ने चितवन मेडिकल कलेजका इण्डोक्राइनोलोजिष्ट डा सौरव खतिवडाले बताए । उनले भने, “यो अवस्थालाई मधुमेह भनिन्छ । खाली पेटमा रगत परीक्षण गर्दा १२६ मिलीग्राम परडेसिलिटरभन्दा बढी र खाना खाएपछि २०० भन्दा बढी भएमा हामीले मधुमेह (डाइबिटिज) भन्दछौँ ।” मधुमेह भएपछि खानपान, व्यायाम र औषधि यी तीन चिजको सहायताले सुगर (चिनी) लाई निश्चित विन्दुमा नियन्त्रणमा राख्न आवश्यक रहेको उनी औंल्याउँछन् ।

मधुमेह लाग्नै नदिन पनि सतर्कता अपनाउन सकिने जनाउँदै उनी भन्छन्, “मुख्य कारण मोटोपन र विलासी जीवनशैली नै हो । यसलाई नियन्त्रणमा राख्नुपर्छ । अहिले धेरै मानिस लामो समय कुर्चीमा बसेर काम गर्ने, शारीरिक कसरत नगर्ने गरेको छन् । यसले गर्दा शरीरको ग्लुकोज पचाउने प्रणाली र इन्सुलिनले राम्रोसँग काम गर्न सक्दैनन्, यसले मधुमेह बनाउँछ ।”

दैनिक आधा घण्टा पसिना आउने गरी व्यायाम गर्न सुझाव दिँदै उनले भने, “वंशाणुगतरूपमा भए पनि खानपान र व्यायाम गर्न सकियो भने मधुमेह हुने समय पाँच÷दश वर्ष पछाडि धकेलिन्छ । शरीरलाई आवश्यक पर्ने मात्रा मिलाएर खान पर्छ । हाम्रो खानामा भात, ढिलो बढी खान्छौँ । यसबाट थोरै खाँदा पनि धेरै ग्लुकोज बन्ने भएकाले भात र ढिलोको मात्रा कति खाने भन्ने जानकारी लिन जरुरी छ ।” आफ्नो तौल, उमेर र उचाइअनुसार डाइटीसियनसँग परामर्श गरेर खाना खाने बानी बसाल्नु राम्रो हुने उनको सुझाव छ । सामान्यतया हामीले खाने चामल बिहान डेढ मुठी र बेलुका एक मुठी खाँदा पर्याप्त हुने जनाइएको छ । उनले एकैपटक धेरै नखान र पटक–पटक थोरै–थोरै गरेर खान सुझाव दिन्छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९८० मा विश्वमा जम्मा १० करोड मानिसमा मधुमेह भएको र करिब ४० वर्षपछि यो सङ्ख्या ४५ करोडभन्दा बढी पुगेको छ । मधुमेह उपचारमा विगत लामो समयदेखि सक्रिय डा अधिकारीले अर्को ४५ करोड मधुमेह हुनसक्ने, पत्ता नलागेका र अर्को वर्ष वा जीवनशैली नबदलेमा हुनसक्ने मानिसको सङ्ख्या रहेको बताउँछन् । विश्वका सात अर्ब जनसङ्ख्यामा करिब ९० करोड मधुमेह भएका वा हुनसक्ने मानिस रहेको जनाइएको छ ।

नेपालमा पनि करिब–करिब जनसंख्याको ८.४ प्रतिशत मानिसलाई मधुमेह भएको अनुमान गरिएको डा अधिकारीको भनाइ छ । नेपालमा यसको परीक्षणको पहुँच सबैतिर पुगिसकेको जनाउँदै उनले भने, “अर्को ८।४ प्रतिशत परीक्षण नभएको छ भन्ने अनुमान गरिएको छ ।” नेपालका सहरी क्षेत्रमा गरिएका अध्ययनले करिब २० प्रतिशत मधुमेहबाट प्रभावित भएको देखाएको जनाउँदै उनी गाउँमा तीन प्रतिशतलाई मधुमेह भएको बताउँछन् ।

स्वस्थ जीवनशैली अपनाउन र मधुमेही छु कि छैन भनेर वर्षमा एकपटक मधुमेह परीक्षण गर्न उनले सुझाव दिए । उनले भने, “वर्षमा एकपटक परीक्षण गरियो भने करिब–करिब फेरि मधुमेह लाग्ने सम्भावना त्यो वर्षलाई १२ प्रतिशतले टर्छ ।