बुटवल,२७ कार्तिक ।
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गर्ने प्रयास सफल हुन नसकेपछि रुपन्देहीका अधिकांश निर्वाचन क्षेत्रमा चुनाब हुने भएको छ ।
निर्धारित संख्याभन्दा महाधिवेशन प्रतिनिधि बन्ने आकांक्षीहरू तीन गुणा धेरै भएपछि रुपन्देहीका अधिकांश क्षेत्रमा निर्वाचन हुने भएको हो ।

पाँचवटा संघीय निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा क्षेत्र नं ४ बाहेक अन्य चारवटा क्षेत्रमा आवश्यक संख्याभन्दा तीनगुणा बढी आकांक्षी देखिएपछि केन्द्रीय नेतृत्वले भने जस्तो सर्बसम्मत प्रतिनिधि छनोट हुन नसकेको हो ।

करिब १७ हजार पार्टी सदस्य संख्या रहको रुपन्देहीमा ३३ जना र मजदुर विशेष प्रदेश कमिटीबाट ७ जना गरी ४० जना मात्र प्रतिनिधि छनोट हुन पाउने एमालेको विधानमा व्यवस्था छ । तर आवश्यक संख्याभन्दा तीन गुणा बढीले प्रतिनिधिको लागि मनोनयन दर्ता गरेको एमाले रुपन्देहीका प्रवक्ता मोहन चापागाईले जानकारी दिए ।

अहिले सम्म रुपन्देहीको निर्वाचन क्षेत्र नं १ मा खुल्लाबाट ४ जना र महिला २ जनासहित ६ जना प्रतिनिधित्व हुनेमा खुल्लातर्फ २४ जना महिला ७ जना गरि ३१ जनाले मनोनयन दर्ता गरेका छन् ।

जिल्लाबाट सबैभन्दा बढी प्रतिनिधि छनोट हुने क्षेत्र नं २ मा मात्रै ५२ जनाले मनोनयन दर्ता गरेका प्रवक्ता चापागाईले बताए ।

क्षेत्र नं. २ बाट खुल्ला तर्फ आठ जना र महिला तीन गरी ११ जना मात्रै महाधिवेशन प्रतिनिधि छनोट हुने छन् । तर खुल्लातर्फ ३५ जना र १७ जना महिलाले मनोनयन दर्ता गराएका छन् । पार्टी महासचिव विष्णु पौडेलको यो निर्वाचन क्षेत्रमा नेकपा –एमाले)का हस्तीहरुकै संख्या बढी भएकोले प्रतिनिधि छान्न सकस भएको छ ।

क्षेत्र नं. २ बाट राष्ट्रियसभा सदस्य गोपाल भट्टराई, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ,जिल्ला अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, तिलोत्तमाका प्रमुख बासुदेव घिमिरे, सैनामैनाका प्रमुख चित्रबहादुर कार्कीसँगै प्रचार विभाग प्रमुख मोहन चापागाई, मिनप्रसाद पौडेल, खुसीराम चौधरी, एजाज आलम, कमला बिक, तेजेन्ऽ केसी, बावुराम पन्थी, साबित्रा अर्याल, बाबुराम भट्टराई, गोपाल राना, गोमादेवी आचार्य, ज्ञानु केसी, थानकुमारी थापा, जानकी न्यौपाने लगायतले मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी खुल्लातर्फ चार र महिला दुई गरी ६ जना प्रतिनिधि चयन हुने क्षेत्र नं तीनमा ३१ जनाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै क्षेत्र नं. पाँचमा १२ जनाले मनोनयन दर्ता गरेका छन् ।

क्षेत्र नं. पाँचबाट खुल्लाबाट चार र महिला एक गरी पाँच जना मात्रै प्रतिनिधि छनोट हुने छन् ।

जिल्लामा पार्टीको प्रभाव कमजोर रहेको क्षेत्र नं ४ मा भने खुलाबाट दुई र महिला एक गरी तीनजना मात्रै प्रतिनिधि चयन हुने छन् । सो क्षेत्रमा सर्वसम्मत प्रतिनिधि चयन हुने देखिएको छ ।