बुटवल,२७ कार्तिक ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा उत्पादन भएको विद्युत सकेसम्म नेपालभित्रै उपभोग गर्ने रणनीति अख्तियार गरेको बताएका छन् ।
सोही रणनीति अनुसार प्राधिकरणले विद्युतीय सवारीको प्रयोग तथा खानापकाउनका लागि इन्डक्सन चुल्होको प्रयोगलाई प्रोत्साहन गर्नेगरी शुल्कमा समेत छुट दिने योजना रहेको जानकारी गराए ।
शनिबार बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै उनले नेपालमा उत्पादन भएको विद्युत सकेसम्म नेपालभित्रै उपभोग गर्ने रणनीति अनुसार विद्युतीय सवारीको प्रयोग तथा खानापकाउनका लागि इन्डक्सन चुल्होको प्रयोगलाई प्रोत्साहन गर्नेगरी शुल्कमा छुट दिनुका साथै उद्योगहरुले मागेजति विद्युत उपलब्ध गराउन लागेको बताएका हुन् ।
त्यसले पेट्रोलियम पदार्थको आयात प्रतिस्थान भई ब्यापारघाटा समेत कम हुने विश्वास ब्यक्त गरे ।
रुपन्देही, परासी क्षेत्रमा मागअनुसारको विद्युत उद्योगलाई दिन नसकिएको भन्दै उनले यो समस्या छिटै समधान हुने बताए ।
उनले ट्रिपिङ समस्याको अन्त्य गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउने बताएका छन् । विद्युत प्रशारण लाइन तथा सव स्टेशनहरुको समस्याका कारण अहिले देखिएको विद्युत ट्रिपिङलाई छिट्टै अन्त्य गरिने उनले बताए ।
बन्न लागेका सवस्टेसन सम्पन्न भएलगत्तै प्रशारण लाइनहरुको समेत स्तरोन्नती गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउँदै प्रयोगमा प्रोत्साहन गरिने उल्लेख गरे ।
सवस्टेसन निर्माण र केही ट्रान्समिसन लाईन विस्तार भइरहेकाले अहिले परिक्षणस्वरूप भारतमा विद्युत बिक्री गरिएको उनको भनाइ छ । ‘नेपालको विद्युत सबै यहाँ खपत गर्ने र बाँकी रहे मात्र बिक्री गर्ने लक्ष्य हो ।’–उनले भने । अहिले उत्पादन भइरहेको विद्युत खपत नभएकाले उनले नागरिकहरूलाई विद्युतको प्रयोग गर्न पनि आग्रह गरे । उनले उद्योगीहरूलाई परेको ट्रंक लाइनको समस्या पनि छिटो समधान हुने बताए ।






