-नरेन्द्र ज्ञवाली

अचानक एकजना मानिस ढाकाको कालो टोपी, कालो कोट, कालो पाइन्ट, कालो जुत्ता, आँखामा कालो चस्मा, दुई/चार जना मानिस लिएर हाम्रो घरतिर आइरहेको देखेँ। मलाई लाग्यो को पाहुना आयो आज हाम्रो घरमा! बाबाममी मेलापात जानु भएकाले उहाँहरुलाई बोलाउन गएँ।

बाबाले भन्नुभयो, ‘जा, पाहुनाको लागि बस्नलाई मुडा र पानी सोध्दै गर्। हामी घाँस लिएर आउछौँ।’

म घर नजिकै पुग्दा कालो कोट लगाएको ती मानिसले सोधे, ‘नमस्कार बाबु! सन्चै हुनुहुन्छ? घरमा को-को हुनुहुन्छ? बाबा-ममी कता जानुभयो?’

‘बाबा-ममी मेलापात जानु भएको थियो। हजुरहरु आएको देखेपछि बाबा-ममीलाई खबर गरिसकेको छु,’ मुडा तान्दै मैले भनेँ, ‘बस्नुहोस्, बाबा-ममी आउँदै हुनुहुन्छ।’

कालो कोट लगाएको मानिसले भन्नुभयो, ‘कतिमा पढ्नु हुन्छ त बाबु?’

मैले भनेँ, ‘बल्ल ११ कक्षामा अध्यन गर्दैछु।’ यति भन्दै थिएँ बाबा-ममी टुप्लुक्क आउनुभयो। कालो कोट लगाएको मानिस नरम शैलीमा बाबा-ममीलाई ‘नमस्कार! सन्चै हुनुहुन्छ?’ भन्दै हुनुहुथ्यो।

को होला यति मिठो बोल्ने मान्छे भन्ने मलाई लाग्यो। बाबाले पनि नरम शैलीमा ‘को होला हजुरहरु, मैले त चिनिनँ’ भन्नुभयो।

कालो कोट लगाएको मानिसले भन्नुभयो, ‘हामी हजुरहरुकै मान्छे हो।’

बाबाले भन्नुभयो, ‘खासै मैले चिन्न सकिनँ नि!’

कालो कोट लगाएको भनेको मान्छे राजनैतिक व्यक्ति हुनुहुँदो रहेछ। उहाँ राजनैतिक दलको नेता अहिले हाम्रो क्षेत्रबाट चुनाव लड्दै हुनुहुँदो रहेछ। उहाँ भन्नुहुन्छ, ‘हामी पार्टीको प्रचार गर्न आएका हौँ।’

नेता ज्यूले आफ्नो पार्टीको बारेमा र पार्टीका कामहरु बुझाउँदै पार्टीका नेताहरूको नाम लिँदै ‘हामी देशको परिवर्तनको लागि द्रुत गतिमा लागेका छौँ’ भन्दै हुनुहुन्थ्यो।

अझ उहाँ भन्नुहुन्छ, ‘हामी वैज्ञानिक समाजको खोजीमा छौँ। हामी भ्रष्टाचारको विरोध गरिरहेका छौँ। धनी-गरिब दुवैका सन्तान वा परिवारले समान शिक्षा, समान स्वास्थ्य, समान किसिमको रोजगार गराउने प्रयासमा छौँ। विश्वास गर्नुस् हाम्रो पार्टीलाई’ भन्दै हुनुहुथ्यो नेता ज्यू।

बाबाले भन्नुभयो, ‘अघिल्लो चुनावमा पनि अर्को नेता ज्यूले अब हजुरहरुले चिन्ता गर्नु पर्दैन विकास हुन्छ, हामी केही गर्छौँ भन्दै आउनु भएको थियो। चुनाव जितेपछि फर्केर आउनु भएन। अब भन्नुस् हाम्रो समस्या कसले सुनिदिने नेता ज्यू?’

‘हाम्रो पार्टीले गर्छ विकास। भोट हाम्रै पार्टीलाई दिनुहोस्, हजुरहरुको दुःख हराउँछ’ भन्दै नेता ज्यू फर्किनु हुन्छ हाम्रो घरबाट।

सदरमुकामबाट हाम्रो गाउँ आउने बाटो बिग्रेकोले एक हप्ता भयो बस नआएको। अझै बाटो मर्मत गर्न सकेका छैनन्। नेता ज्यू भन्नुहुन्छ विकास भएको छ। तर, विकास कहाँ र कसको लागि भएको छ थाहा छैन।

साहित्यपाटीबाट