पाल्पा,२६ कार्तिक ।
पाल्पाको माथागढी गाउँपालिकामा दुइ दिने मुटु परीक्षण शिविर सुरू भएको छ ।

माथागढीको झडेवा स्थित किसान माध्यमिक विद्यालयमा शिविर सुरू भएको हो ।

सेभ द हार्टको आयोजना र मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, त्रि.वि. शिक्षण अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा निःशुल्क मुटु परीक्षण शिविर गरिएको हो ।

मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान कोइरालाको नेतृत्वमा आएको चिकित्सकको टोलीले पहिलो दिन शुक्रबार १ हजार ७२५ जनाको मुटु परीक्षण गरेको छ । शिविरमा शुक्रबार १७० जनाको ईको र १९५ जनाले इसिजी गराएको माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापाले जानकारी दिए ।

परीक्षण गराएकामध्ये १ सय बढीमा मुटुसम्बन्धी समस्या देखिएको अध्यक्ष थापाले बताए । मुटु रोगको जटिल समस्या भएका ३० जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गरी विभिन्न संघसंस्थाहरुको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको अध्यक्ष थापाले बताए ।

यातयात सञ्जाल पुगेका ठाउँमा तयारी खानेकुरा, धुमपान, मध्यपानजस्ता चिजले जीवनशैली बिगारेकोले समय समयमा मुटु जाँच गराउनुपर्ने मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले बताए ।

गाउँ–गाउँमा पुगेर मुटु रोगीहरुको पहिचान गरी उपचारमा सहयोग पु¥याउने उद्देश्यले विभिन्न संघ संस्था र स्थानीय सरकारहरुको समन्वयमा शिविरहरु सञ्चालन गरिदै आएको सेभ द हार्टका प्रमुख तथा सह–प्रा.डा.अनिल भट्टराईले बताए ।

उनले मुटु सम्बन्धि समस्या देखिएर शल्यक्रिया गर्नु पर्ने अवस्था आएका विरामीहरुका लागि आफुहरुले आर्थिक सहयोग समेत गर्ने बताए ।

शनिबारसम्म सञ्चालन हुने शिविरमा ३ हजार बढी नागरिकको स्वास्थ्य परीक्षण गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ ।