दाङ,२५ कार्तिक ।
भिरबाट लडेर दाङमा एक बृद्धकाे मृत्यु भएको छ । मृत्यु हुनेमा दाङकाे तुलसीपुर उपमहानगरपालिका–१ पातेघारका ७० वर्षीय जरसिङ कामी रहेका छन् ।
आफ्नै घर नजिकको बारीमा घाँस काट्ने क्रममा बुधबार भिरबाट खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
खोजतलास गर्ने क्रममा उनलाई बिहीबार बिहान मृत अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ । घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच पाल्पामा पनि एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । निस्दी गाउँपालिका–४ आमडाँडा बस्ने ७१ वर्षीय विष्णु बहादुर सुनारी आफ्नै घर नजिकै गोरेटो बाटोबाट अन्दाजी १५ मिटर तल खोल्सामा मृत अवस्थामा फेला परेका हुन् । कात्तिक २० गते घरबाट हिँडेका उनी घर नफर्केपछि खोजी गर्ने क्रममा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।