बुटवल,२४ कार्तिक ।
२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहले अँगालेको त्यागको राजनीति बर्तमान अबस्थामा थप सान्दर्भिक भएको सरोकारवालाहरुले बताएका छन् ।

गणेशमान सिंहको १०७ औँ जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस बुटवल उपमहानगर समितिद्धारा बुधबार बुटवलमा आयोजित उनको शालिकमा शालिकमा माल्यार्पण गर्दै उनिहरुले उक्त कुरा बताएका हुन् ।

स्वर्गीय सिंहले नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरण प्रस्तुत गरेको स्मरण गर्दै उनिहरुले निष्ठाको राजनीति गर्ने व्यक्तिका रुपमा समेत परिचित रहेको बताए ।

उनको नेतृत्वमा जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गरेको आग्रह अस्वीकार गर्दै सिंहले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेको बिचार ब्यक्त गरे ।

नेपाली कांग्रेस बुटवल उपमहानगर समितिका सभापति खेलराज पाण्डेको सभापतित्व र पार्टीका क्षेत्रिय सभापति हरि लम्सालको
प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सचिब गंगा पन्थीको सन्चालनमा सम्पन्न भएको थियो ।

१९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्त्वपूर्ण योगदान २०४६ सालमा रहेको थियो ।

जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह त्यो आन्दोलनका सर्वोच्च कमाण्डर भइ सबैको प्रिय बनेका हुन् ।

नेता सिंहलाई २०१७ साल पुस १ गतेको ‘कु’ पछि २०२५ सालसम्म वीपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो ।