पार्टी सभापति र प्रधानमन्त्री एउटै ब्यक्ति हुनुपर्नेमा जाेड
भैरहवा,२४ कार्तिक ।
गृहमन्त्री बालकृष्ण खाणले अहिलेको पाँच दलीय गठबन्धनको सहकार्य कम्तीमा आगामी चुनावसम्म कायम रहने बताएका छन् । गठबन्धन लामो समय पनि जान सक्ने भन्दै उनलेे कम्तीमा चुनावसम्म सहकार्य गरेरै आगाडि बढ्ने दाबी गरेको ।
नेपाली कांग्रेस सिद्वार्थनगर नगर समिति तथा नेपाल महिला संघ रुपन्देहीद्वारा बुधबार भैरहवा आयोजित सम्मान तथा पार्टी प्रवेशमा कार्यक्रममा बाेल्दै गृहमन्त्री खाणले गुमेको साख फिर्ता लिन पनि नेपाली काँग्रेस गठबन्धनबीचको सहकार्यलाई जारी राख्नुपर्ने पक्षमा रहेको बताए । गठबन्धनबिना काँग्रेस पनि सुरक्षित हुन नसक्ने भन्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका खाँणले गठबन्धन कायम राखेरै चुनावमा जानुपर्नेमा जाेड दिए ।
पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने बताउदै उनलेे नेपाली काँग्रेसको स्थायित्व, सवलीकरण र आउँदो स्थानीय निर्वाचन र आमनिर्वाचन सफल पार्न नेपाली काँग्रेसको सभापति र प्रधानमन्त्री एउटै ब्यक्ति हुनुपर्ने तर्क गरे ।
वडा तह हुँदै केन्द्रीय निर्वाचन गर्ने पार्टी नेपाली काँग्रेसमात्रै रहेको बताउँदै कांग्रेस नेता खाँणले नेपाली काँग्रेसलाई सवल, सक्षम र जिम्मेवार पार्टीको रुपमा अगाडि बढाएर आगामी निर्वाचनमा पहिलो पार्टी बनाइने दाबी गरे ।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुुल रज्जाकले मुलुकमा संकट आउँदा समस्या समाधानका लागि कांग्रेस अगाडी आएको बताए । उनले कम्युनिष्ट नेतृत्वको दुईतिहाई बहुमतको सरकार सञ्चालन गर्न नसकेको आराेप लगए ।
साे अवसरमा लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दीन खाँ र नेपाली कांग्रेस सिद्धार्थनगरका बुथ सभापतिहरुलाई सम्मान गरिएको थियो ।
आठ सयबढि नेपाली कांग्रेसमा प्रवेश
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दिलिप कुमार कान्दु, कार्यसमिति सदस्य संजय वेरिवाल, पूर्व वडाअध्यक्ष भरतसिंह विजुक्छे, रुपन्देही युवा समूहका अध्यक्ष विशाल गुप्तासहित विभिन्न पार्टी परित्याग गरी नेपाली ८ सय बढी नेपाली कांग्रेसमा प्रवेश गरेका कांग्रेस सिद्धार्थनगरका सभापति कोशिष बहादुर खड्काले बताए ।
वेरिवाल गत स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को वडाअध्यक्षमा उम्मेदवार बनेका थिए ।






