बुटवल,१५ कार्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । उनलेे सोमबार साँझ प्रदेशवासीको नाममा सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।
यसअघि विश्वासको मत लिने क्रममा नेपाली कांग्रेससँग गरेको सहमतिअनुसार शाहीले राजीनामा दिएका हुन् । सम्बोधनका क्रममा मुख्यमन्त्री शाहीले कानुनी संरचना नभएको कर्णाली प्रदेशमा ३६ ऐन, ६ अध्यादेश, १० नियमावली, ३६ कार्यविधि र १० निर्देशिका निर्माण गरेको बताए ।
उनले संघीयता कार्यान्वयनका क्रममा आफू नेतृत्वको प्रदेश सरकारको ऐतिहासिक जग बसालेको, सङ्घीय सरकारसँगको समन्वयमा कर्णाली तथा भेरी करिडोर राष्ट्रिय प्रसारण लाइनको योजना अगाडि बढाइएको जानकारी गराए ।
समृद्धिको आधार खडा गरी प्रदेश सरकारले समृद्धिको जग बसालेको बताउँदै उनले पर्यटन गुरुयोजना निर्माण, यस प्रदेशका ७१८ वटै वडापालिकामा रु दुई अर्ब ९६ करोड बजेट परिचालन, सुर्खेत उपत्यका खानेपानीको सम्भाव्यता अध्ययन, विद्युत्, पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि, जडीबुटीलगायत क्षेत्रको विकासका योजनाहरू अगाडि बढाइएको उनलेे सम्बोधनमार्फत जानकारी दिए ।
शाहीले राजीनामा दिएसँगै कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने भएको छ । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने बताइएको छ ।
कांग्रेस र तत्कालीन एमालेका (माधव नेपाल समूह) सांसदले दिएको विश्वासको मतको आधारमा शाहीले मुख्यमन्त्रीमा निरन्तरता पाएका थिए ।









