नेपालका कम्युनिष्टहरु बाहिर नास्तिक भित्रभित्रै आस्तिक रहेको दाबी

बुटवल,८ कार्तिक ।
भारतको जगन्नाथपुरीस्थित गोवर्द्धन पीठका प्रमुख जगतगुरु शंकराचार्यले नेपालमा हिन्दु राष्ट्र पुनस्र्थापना भएरै छाड्ने बताएका छन् ।

विश्व ओमकार एकता महाअभियानको आयोजनामा सोमबारदेखि भैरहवामा सुरु भएको आध्यात्मिक जागरण बिराट एकता धर्म सभामा प्रवचन दिदै धर्म गुरु शंकराचार्यले नेपाल यस अघि पनि हिन्दु राष्ट्र रहेको र भविष्यमा समेत हिन्दु राष्ट्र नै रहने दावी गरेका हुन् ।

कुनै ब्यक्ति वा बस्तु एक क्षणको लागी पनि धर्म निरपेक्ष हुन नसक्ने भन्दै उनले धर्म निरपेक्ष भनेको एक शब्द मात्र भएको र यसको कुनै अर्थ नभएको बिचार व्यक्त गरे ।

उनले सबै धर्महरुको मूल धर्म सनातन धर्म नै रहेको हुदा यसको शान्तीपूर्वक प्रचारको लागी सबै लाग्न आग्रह गरे ।

हिन्दु राष्ट्र स्थापना गर्नेबारे नेपालका कम्युनिष्टहरु राजी भए पनि बाहिरबाट खुलेर लाग्न नसकेको भन्दै उनले बाहिरबाट नास्तिक रहेको देखाए पनि यहाँका कम्युनिष्टहरु भित्रभित्र धर्मप्रति आस्तिक रहेको दाबी गरे ।

हिन्दुराष्ट्र नेपाल सुरक्षित रहे मात्र भारतको सुरक्षा हुन सक्ने बताउदै शंकराचार्यले चीनको आँखा नेपालमा रहेको र चीनबाट नेपाल असुरक्षित भए त्यसको असर भारतमा समेत पर्ने उल्लेख गरे ।

कार्यक्रममा नेपालका धर्मगुरु डाक्टर चिन्तामणि योगीले अहिले सबै नेपालीहरुको मूख्य उद्देश्य नेपाललाई हिन्दु राष्ट्र बनाउनु रहेको भन्दै त्यसका लागी विश्व ओमकार महाअभियान नै गठन गरेर लागेको बताए ।

नेपाललाई हिन्दु राष्ट्र कायम गराउने अभियानमा हिन्दु धर्मका सर्वोच्च गुरु शंकराचार्यको पनि चासो रहेको र सोही अनुसार उनको नेपाल आगमन भएको उनको भनाई थियो ।

मूल आयोजक समितीका संयोजक समेत रहेका उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले जगदगुरुको आगमनले यो क्षेत्र नै पवित्र भएको बताउदै यो कार्यक्रम नेपाललाई हिन्दु राष्ट्र कायम गराउने उद्देश्य सहित आयोजना गरिएको जानकारी गराए ।

यसअघि भैरहवाको हनुमान मन्दिरबाट झाँकी सहितको शोभायात्रा निकालिएको थियो ।