बुटवल,६ कार्तिक ।
भैरहवा स्थित गौमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब रुपैयाँ मूल्यको १८ सय किलोग्राम तौलको बुद्ध मूर्ति राखिएको छ ।

म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले बहुमूल्य धातु ‘ह्वाइट जेड स्टोन’बाट बनेको बुद्धको मूर्ति स्पेनको लुम्बिनी गार्डेन फाउण्डेशन मार्फत नेपाल ल्याइएको हो ।

फाउण्डेसनले म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट बुद्धको मूर्ति भैरहवा ल्याएको हो ।

उक्त मूर्तिलाई शनिबार भैरहवा बजार परिक्रमापश्चात गौतमबुद्ध विमानस्थलमा ल्याएर राखिएको छ ।

६ महीना लगाएर भिक्षुहरुले कुदेको उक्त बुद्ध मूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनले नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरेको थियो ।

एक हजार ८ सय किलोग्राम तौल, १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको बुद्ध मूर्तिको कार्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्ने कार्यक्रम रहेको छ ।

फाउण्डेसनले विश्वका १६ देशमा यस प्रकारका मूर्ति पठाइएको जनाइएको छ ।
म्यान्मारबाट नेपाल ल्याउँदा लाग्ने ढुवानी खर्च भने फाउन्डेसनले व्यहोरेको हो । मूर्ति १२ हजार अमेरिकी डलर ढुवानी चार्ज तिरेर म्यान्मारबाट नेपाल ल्याइएको हो ।

भन्सार शुल्क भने नेपाल सरकारले छुट दिएको थियो । बिमानस्थलमा बुद्ध मूर्ति राखेपछि लुम्बिनीको पर्यटन प्रबर्द्धनमा सकारात्मक प्रभाव पर्ने आशा गरिएको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले बताए ।

बुद्ध मूर्ति नगर परिक्रमापछि विमानस्थलमा आयोजित कार्यक्रममा बोल्दै संविधान सभा सदस्य इस्तियाक अहमद खाँन, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्ले, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ता, लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत भुपेन्द्र पाण्डेयलगायतले विमानस्थल छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका थिए ।