बुटवल,३ कार्तिक ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले कोरोना महामारीले रोजगार गुमाएका श्रमिकहरुको लागि राहत प्याकेज ल्याउने तयारी गरिरहेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादी रुपन्देहीद्धारा बुधबार बुटवलमा आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले कोरोना महामारीले रोजगारी गुमाएको विषम् परिस्थितीमा श्रमजीवीलाई राहत महसुस गराउन रोजगारीका अवसरहरु सिर्जना गर्ने तयारी गरिरहेको बताएका हुन् ।
श्रमजीविहरुको हकहितको लागि कसरी काम गर्ने भन्ने बिषयमा मन्त्रालयले योजना बनाईरहेको बताउदै मन्त्री श्रेष्ठले छिट्टै श्रमजीविहरुले राहत महसुुस गर्ने कार्यक्रम ल्याउने बताए ।
उनले भने, ‘मन्त्रालयलाई कसरी लैजाने, मन्त्रालयले कसरी काम गर्ने र सिंगो नेपालका श्रमजीविहरुको हकहितको लागि कसरी काम गर्ने लगाएतमा हामिहरु योजना बनाउँदै छौं ।’ उनले सामाजिक सुरक्षाकोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमहरुलाई अझ प्रभावकारी बनाउँने विश्वास व्यक्त गरे ।
पार्टीका केन्द्रीय सदस्य समेत रहेका जिल्ला अध्यक्ष राजु गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम पार्टीका अर्का नेता सिद्धिचरण भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।






