बुटवल,६ भदौ ।
रूपन्देहीको मणिग्राम स्थित राममणि बहुमुखी क्याम्पस अनुसन्धान व्यवस्थापन सेलको आयोजनामा “सामाजिक विज्ञानमा उदीयमान दृष्टिकोणहरू र शैक्षिक अवसरहरू” बिषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालकाे सभापतित्व र त्रिभुवन विश्वविद्यालयका निमित्त रजिस्ट्रार तथा व्यवस्थापन संकायका डीन प्रोफेसर डा. महानन्द चालिसेकाे प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलन उद्घाटन कार्यक्रममा नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष शत्रुघ्नप्रसाद गुप्ता, राममणि बहुमुखी क्याम्पसका क्याम्पसका क्याम्पस प्रमुख ताराप्रसाद पराजुली,अनुसन्धान व्यवस्थापन सेलका संयोजक डा.अशोक भण्डारीले आ आफ्नो भनाइ राखेका थिए ।
विभिन्न देशका प्राज्ञ तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहेको सम्मेलनमा प्रमुख वक्ताकाे रूपमा प्रोफेसर डा. महानन्द चालिसे, भारतको गोरखपुरस्थित दीनदयाल उपाध्याय गाेरखपूर विश्व विद्यालयका समाजशास्त्रका प्राध्यापक प्रोफेसर अनुराग द्विवेदी,फिलिपिन्सस्थित विज्ञान तथा प्रविधि इन्स्टिच्युटका प्रोफेसर डा.एल्भिस ए. एनक्रिज्लीलगायतले आ आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
सम्मेलनले सामाजिक विज्ञान तथा शिक्षाशास्त्रका क्षेत्रमा विकसित हुँदै गरेका नयाँ दृष्टिकोण, अनुसन्धानका सम्भावना तथा शैक्षिक अवसरहरूका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्राज्ञ, अनुसन्धानकर्ता र शिक्षाविद्हरूबीच ज्ञान,अनुभव र अनुसन्धानका निष्कर्ष आदान–प्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको राममणि बहुमुखी क्याम्पसका उपप्राध्यापक मुक्तिनाथ गैह्रेले जानकारी दिए ।
सम्मेलन दुई दिनसम्म सञ्चालन हुने उपप्राध्यापक गैह्रेले बताए ।






