बुटवल, ३ कार्तिक ।
रुपन्देहीको मणिग्रामकी सीता भण्डारी पौडेलको मृत्यु भएको ४६ दिनपछि आफन्तले शवको अन्त्यष्टी गरेका छन् ।

गत भदौ २० गते बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेकी तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्रामकी सीता भण्डारी पौडेलको आत्महत्या हो कि हत्या भन्ने विवाद लम्बिँदा डेढ महिनासम्म अन्त्येष्टि हुन सकेको थिएन ।

पौडेल परिवारबाट माइती पक्षले ११ लाख रुपैयाँको चेक बुझेर भण्डारीको मृत्यु भएको ४६ दिनपछि मात्र मृतकको अन्त्येष्टि गर्न सहमत भएको बताइएको छ ।

मृतकको बुटवलको मगरघाटमा बुधबार अन्त्येष्टि गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

मंगलबार गरिएको लिखित सहमतिमा भण्डारी परिवारले विवाह गर्दा लागेको खर्च १० लाख र सापटी दिएको एक लाख गरी ११ लाख रुपैयाँ बुझ्ने र आगामी दिनमा अदालती प्रक्रियामा कुनै हस्तक्षेप हुने गरी आन्दोलन नगर्ने सहमति गरिएको बताइएको छ ।

प्रहरीले अनुसन्धानको क्रममा सीताको मोबाइलबाट ‘…मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो । म सकिनँ बाँच्न’ भनी लेखिएको सुसाइड नोट फेला परेको भए पनि माइती पक्षले आत्महत्या नभई हत्या भएको दाबी गर्दै करिब १ महिना आन्दोलन गरेका थिए ।

मृतकका बुवा हरिप्रसाद भण्डारीले जाहेरी दिएपछि सीताका श्रीमान टीका पौडेल, आमाजु (दिदी) बिष्णु पौडेल र जेठाजु हरिप्रसाद पौडेल आत्महत्या दुरूत्साहन अभियोगमा पक्राउ परी हाल मुद्धा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

२७ वर्षीया सीता आफ्नै घर कोठामा मृत अवस्थामा फेला परेको सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा अनुसन्धान भएको थियो ।