काठमाण्डाै,३ कार्तिक ।
आज पनि लुम्बिनी प्रदेश सहित देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा माैसम बिज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
माैसम पुर्वानुमान महाशाखा अनुसार देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ भने आज प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
प्रदेश १ का केही ठाउँमा आज पनि लगातारजसो झरी पर्ने मौसमविद्ले बताएका छन् । कर्णाली र सुदूरपश्चिममा भने पानी पर्न केही कम भएको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा आज पनि मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनलेे बताइन् । यद्यपि , आज हिजोको भन्दा केही कम पानी पर्ने पूर्वानुमान गरिएको छ ।
भोलिदेखि बिस्तारै क्रमशः मौसम खुल्दै जाने मौसमविद् शाक्यकाे अनुमान छ । भारतको विहार र उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभाव परेकाले गएको आइतबारदेखि लगातार पानी परिरहेको छ । सामान्यतया अक्टोबर, नोभेम्बर र प्रि मनसुनको समयमा बंगालको खाडीमा चक्रवात विकास हुने समय भएकाले यो समयमा धेरै पानी पर्ने मौसमविद्ले बताएका छन् ।
अहिलेको मौसमी प्रणालीले चक्रवात विकसित हुन नसके पनि लगातार पानी पारिरहेको छ । मौसम सम्बन्धी जानकारी इन्टरनेट, रेडियो, टेलिभिजन र पत्रपत्रिकामा आइरहेकाले त्यहीअनुसार आफ्नो कामलाई अगाडि बढाउन पनि मौसमविद्ले आग्रह गरेका छन् । मौसम सम्बन्धी प्राप्त जानकारी पालना गरे क्षति न्यूनीकरणमा सहयोग पुग्ने भएकाले लापरबाही नगर्न मौसमविद्को आग्रह छ ।






