बुटवल,१ कार्तिक ।
गृहमन्त्री बालकृष्ण खांणले आम नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीद्वारा गृहमन्त्री उनकाे सम्मानमा साेमबार भैरहवामा आयोजित सम्मान,बधाई तथा नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता खांणले आम नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका हुन् ।

संविधानको पालना र रक्षा गर्ने दायित्व राज्यको भएको बताउदै उनले आम नागरिकको जीवन रक्षा गर्ने कार्यलाई पहिलो प्राथमिकता दिन सुरक्षा निकायलाई निर्देशन समेत दिए ।

नेकपा एमाले तर्फ लक्षित गर्दै उनलेे ठूलो दललाई सरकार चलाउनुस् भनेर जनताले मत दिए पनि विगतको सरकारले आफ्नै पार्टीभित्रको राजनीतिक झगडाका कारण ५ वर्षे कार्यकाल पुरा गर्न नसकेको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खांणले पार्टीको १४ औं महाधिवेशन सफल पार्नुपर्ने बताए । उनले महाधिवेशन अन्तर्गत वडा तथा स्थानीय तहको अधिवेशनमा अधिकांश स्थानमा सहमतिमै नेतृत्व चयन भएको बताए । अहिले नेपाली कांग्रेसको काधमा जिम्मेवारी र चुनौती रहेकाले जिम्मेवारी पुरा गर्न अझ उत्तरदायी र गम्भिर बन्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । अहिलेको विषम परिस्थितिमा कांग्रेसप्रति आकर्षण बढ्दै गएको भन्दै उनलेे मुलुकभर क्रियाशिल सदस्यको संख्यामा १० लाखको हाराहारीमा पुगेको नेता खांणले बताए ।

मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला रुपन्देही आएका नेता खांणले रुपन्देहीको समृद्धिका लागि प्रयत्नशिल रहने बताए ।
उनले यो जिल्लाको विकास रुपन्देही र रुपन्देहीका नागरिकका लागि मात्र नभई यहाँको विकासले देशको विकासका लागि आधारशिला तयार गर्ने बताए । उनले जिल्लाको विकासका लागि सार्थक प्रयत्न गर्ने अग्रज नेताहरुप्रति आभार प्रकट गरे ।‘ रुपन्देहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्छ भन्ने सोच तत्कालिन पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइरालाले राख्नुभएको थियो, त्यस्तै पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री स्व. सुशिल कोइरालाले २०७१ माघ १ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्नुभएको थियो,’ उनले भने ।

बेलहिया नाकालाई व्यवस्थित बनाउन अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीहरुलाई आफूले आग्रह र छलफल गरेको मन्त्री खांणले बताए । उनले भैरहवा भन्सारमा रहेको पार्किङ समस्याले असहजता भएको र यसको समाधानको लागि अल्पकालिन र दीर्घकालिन परियोजना आवश्यक रहेकोले सोही अनुसार अगाडी बढेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाक, लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री एवं कांग्रेस नेता वसिउद्दीन खान, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, जिल्ला उपसभापति सरिता चौधरीले कांग्रेस जनताको साथमा रहेको र पार्टीलाई एकताबद्ध बनाउँदै अगाडी बढ्नुपर्ने बताए । कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

साे अवसरमा एमालेका नेताद्वय ध्रुव प्रसाद नेपाल र दर्शन नेपाल कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई गृहमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खांण र रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाकले कांग्रेसमा प्रवेश गराएका थिए ।