
सुशासन भन्दा ओलीले कुशासन मात्रै चलाएकाे आराेप
पाल्पा,१ कार्तिक ।
नेकपा ( एकीकृत समाजवादी ) की नेतृ रामकुमारी झाक्रीले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमै धेरै राम्रो काम गर्ने अवसर गुमाएको बताएकी छन् ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाद्वारा सोमबार विहान तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शहरी विकास मन्त्री समेत रहेकी झाक्रीले आफ्नै बहुमतको सरकार हुँदा समेत ओलीले राम्रो काम गरेर देखाउने अवसर गुमाएको बताएकी हुन् ।
सामान्य संवाद समेत नगरी एक्कै हिड्ने ओलीको बानीले नयाँ पार्टी जन्मिएको बताउदै उनलेे मुखले सुशासन कुरा गरेर ओलीले कुशासन मात्रै चलाएकाे आराेप लगाइन् ।
कुनै विज्ञ वा प्राविधिक अध्ययन, सम्भाब्यताको खोजी विनै हावादारी गफ दिएर ओलीले समय खर्चिएको बताउँदै नेत्रृ झाकीले प्रधानमन्त्री जस्तो ब्यक्तिले आफै विज्ञ जसरी हावादारी गफ गर्न थालेपछि जनताले समेत विश्वास गर्न छाडेको बताइन् ।
पूर्बपार्टी एमाले बाट बिद्रोह गरेर बनाएको नयाँ पार्टी देश र जनता प्रति उत्तरदायी भएर अघि बढ्ने बताउँदै उनले युवाहरुको सहभागीतामा देशभरी पार्टी विस्तारको अभियान चलिरहेको जानकारी गराइन् ।
संबिधानको रक्षा गर्दे जनताको भावना र चाहना अनुसार काम गर्नकै लागी राजनैतिक गठबन्धन बनेको भन्दै उनलेे पार्टी पार्टी बिचको गठबन्धनले निरन्तरता पाईरहने दाबी गरिन् ।





