काठमाडौं,२९ असाेज । आज बडादशैंको मुख्य दिन अर्थात् विजया दशमी, आजको दिन मान्यजनहरूबाट टीका र जमरा थापेर आशीर्वाद लिँदै मनाउन सुरु भएको छ ।
किम्बदन्तीअनुसार दशमीकै दिन दुर्गा भवानीले दानवी शक्तिमाथि तथा रामले रावणमाथि विजय हासिल गरेका थिए। सत्यले असत्यमाथि विजय पाएका कारण यस दिनलाई विजया दशमी भनिन्छ।
घटस्थापनाको दिनदेखि विधिपूर्वक घरघरमा आह्वान गरी पूजाआराधना गरिने दुर्गादेवीलाई आजकै दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ। देवीलाई बिहान ८:१९ बजे उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए।
बिजया दशमीकाे अवसरमा राष्ट्रपति बिद्यादेवी भण्डारी,प्रधानमन्त्री शेर बहादुर देउवा,विभिन्न पाटीका नेताहरूले शुभकामना सन्देश दिएका छन् ।






