जस्तोसुकै परिस्थितीमा पनि राज्यले संयमता गुमाउन नहुनेमा जाेड
बुटवल,२५ असाेज ।
नागरिकको ज्यान जानेगरी प्रहरीद्वारा अत्याधिक बल प्रयोग गर्नु निन्दनीय भएको शान्ति समाज रूपन्देहीले जनाएको छ ।
मानव अधिकार तथा शान्ति समाज रूपन्देहीले साेमबार एक प्रेस विज्ञप्ति जारी गरी नागरिकको ज्यान जानेगरी प्रहरीद्वारा अत्याधिक बल प्रयोग गर्नु निन्दनीय भएको जनाएको हो ।
शान्ति समाज रूपन्देहीका सभापति डिपि खनाल र सचिव कपिल ज्ञवालीद्वारा जारी बिज्ञप्तिमा आइतबार रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरीको गाेली लागि चार जनाको मृत्यु भएको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदै नागरिकको ज्यान जानेगरी प्रहरीद्वारा अत्याधिक बल प्रयोग गर्नु निन्दनीय भएको जनाइएको छ ।
हरेक नागरिकको जीवनको रक्षागर्ने जिम्मेबारी र दायित्व पनि राज्यकै भएको जनाउँदै विज्ञप्तिमा जस्तोसुकै परिस्थितीमा पनि राज्यले संयमता गुमाउन नहुनेमा जाेड दिइएको छ ।
साे घटनाको कारक तत्व जग्गा प्रकरणमा सम्बन्धित निकाय,राजनैतिक दल ,नागरिक समाज,तथा अन्य सरोकारवालाहरुसंग बिस्तृत छलफल र परामर्श गरि गहन संवाद मार्फत शान्तिपूर्वक निकास निकाल्न पनि शान्ति समाजले प्रशासन समक्ष आग्रह गरेको छ ।
घटनामा घाइते भएका सबैकाे स्वास्थ्य उपचारको सम्पूर्ण जिम्मेबारी राज्यलाइ लिन र घटनाको निश्पक्ष छानबिन गर्न समेत शान्ति समाजले आग्रह गरेको छ ।
मोतिपुर क्षेत्रमा शान्ति सुब्यबस्था कायम गर्न,त्रसित नागरिकको जनजीवनलाइ सामान्यीकरण गर्न सबै सरोकारवाला पक्षलाई शान्ति समाजले बिशेष आग्रह छ ।
घटनाको बिषयमा शान्ति समाजले अनुगमन तथा अध्ययन गरिरहेको समेत विज्ञप्तिमा जनाइएको छ ।
रूपन्देहीको बुटवलस्थित मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार स्थानीय र प्रहरीबिच झडप हुँदा ४ जनाको मृत्यु भएको थियाे भने सर्वसाधारण तथा प्रहरी र केहि सञ्चारकर्मी समेत घाइते भएका थिए ।







