स्याङ्जा,२५ असाेज ।
स्याङ्जाको वालिङ–१० मदिखोला नजिकै आइतबार राति भएको जिप दुर्घटनामा परी एउटै गाउँका दुईसहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गल्याङ नगरपालिका–१० लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गङ्गा पल्ली, सोही वडाको गाउँसौराकी चार वर्षीया करिष्मा थापाको मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
दशैकाे मुखमा एउटै गाउँका तीन जनाको मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।

जिपमा सवार रहेका १९ जनामध्ये आइतबार वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारका क्रममा दुई जना र पोखरास्थित मणिपाल अस्पतालमा गए राति थप एकसहित तीन जनाको मृत्यु भएको हो । गल्याङ नगरपालिका–१० की करिष्मा थापाको मणिपाल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

वालिङबाट गल्याङ–१० लाखुडाँडातर्फ जाँदै गरेको ग१ज ४९१८ नम्बरको जिप कच्ची उकालो बाटोबाट आइतबार साँझ झण्डै ५० मिटर तल खसेको थियो । जिपमा चालकसहित १९ यात्रु थिए । चालकसहित अन्य दुई जना सामान्य उपचारपछि निको भएका छन् भने बाँकी रहेका १४ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।